१० असार, दाङ ।
घाराही – दाङको लमही नगरपालिकामा नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम र मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)सहितका तीन दल संयुक्त गठबन्धन निर्माण गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

संयुक्त गठबन्धनको तर्फबाट नगरप्रमुख पदमा प्रकाश कुमार चौधरी एवं उपप्रमुख पदमा खेमलाल चौधरीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन । उम्मेदवार दर्ताभएसँगै नगरक्षेत्रमा तीन दलको संयुक्त चुनाव प्रचार समितिले चुनावी प्रचारलाई तीव्रता दिएको छ ।

नगर प्रमुखका उम्मेदवार प्रकाश चौधरीले लमहीलाई समृद्ध बनाउने र जनताका आवश्यकता पूरा गर्नमै आफू केन्द्रित हुने बताए । उनले भौगोलिक हिसाबले पनि समस्यायुक्त रहेको लमही नगरपालिकाको सतबरिया क्षेत्रमा सिंचाईको अभावले पर्याप्त कृषि उत्पादन हुन नसकेको बताउँदै त्यहाँ सिंचाईको व्यवस्था गर्न आफू लागिपर्ने बताए ।

त्यसैगरी नगरको खानेपानी समस्याको समाधान, राप्ती नदीले गर्ने कटान नियन्त्रण, तथा सुकुम्बासी र निकुञ्ज पीडितहरुको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन ।

यसैबिच नयाँ शक्ति पार्टीको तर्फबाट उम्मेदवार बनेका वडा नं. ५ का वडा अध्यक्ष उम्मेदवार प्रदिप रेग्मीले वडामा स्वच्छ, सफा खानेपानीको व्यवस्था गर्ने, वडाका सम्पूर्ण सडक कालोपत्रे गर्ने, वडामा रहेको सामुदायिक वन क्षेत्रलाई ग्रीन पार्क बनाउने कामलाई छिटोभन्दा छिटो पूर्णता दिने प्रतिबद्धता जनाएका छन ।

नयाँ शक्तिले अन्य वडाहरु मध्ये वडा नं. २ अध्यक्षमा किशोर कुमार घर्ती र वडा नं. ४ को अध्यक्षमा तिलक चौधरीलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।