१५ चैत, ललितपुर ।

ललितपुर महानगरपालिका क्षेत्रमा सामुदायिक (भुस्याहा) कुकुरको संख्या करिब तीन हजारको हाराहारीमा रहेको पाइएको छ ।

कुकुरहरुको व्यवस्थापन कार्यक्रम अन्तरगत एनिमल नेपाल नामक संस्थाले गरेको कुकुर गणना सम्बन्धी अध्ययनले यस्तो तथ्याङ्क देखाएको हो । संस्थाले करिब तीन महिना लगाएर सफ्वेयरको प्रयोग गरि तथ्यांक संकलन गरेको जनाएको छ ।

अध्ययनमा हरेक सामुदायिक कुकुरको रंग, लिंग, त्यसको स्वास्थ्य अवस्था लगायतको विभिन्न विवरणहरु समेटिएको थियो । अध्ययनका क्रममा कुल २ हजार ९ सय ४३ कुकुरहरुमध्ये एक हजार ५ सय ७७ वटा भाले कुकुर र एक हजार ४ सय ८९ वटा पोथी कुकुर पाइएको थियो ।

ललितपुर महानगरपालिकासँगको सहकार्यमा भएको कुकर गणना सम्बन्धी अध्ययन कार्य तीन महिनासम्म ललितपुरका २२ वटा वडामा गरिएको थियो ।

ललितपुर नगर क्षेत्रमा भएका सामुदायिक कुकुरहरुको लगत संकलन गरी उनीहरुको संख्यालाई मानवीय तबरले व्यवस्थापन गर्ने कार्यका लागि यो आँकडाले मद्धत पुर्याउने पशुकल्याणका क्षेत्रमा काम गर्ने अभियन्ता प्रमदा शाहको भनाई छ ।

ललितपुर नगर क्षेत्रमा गरिएको सामुदायिक कुकुरको संख्या गणनापछि ती कुकुरहरुको बन्ध्याकरण पनि चाँडै गरिने एनिमल नेपालका कार्यकारी निर्देशक उत्तम काफ्लेले बताए ।

सन् २०१७ मा एनिमल नेपालले २ हजार कुकुरलाई रेबिज बिरुद्धको खोप, ११ सय पोथी कुकुरको बन्ध्याकरण र एक हजार कुकुरलाई उपचार सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

यसअघि सन् २०१४ मा गरिएको अध्ययनले करिब ४ हजार ५ सय कुकुर रहेको देखाएको थियो ।