अन्जली रम्तेल

२२ असार, काठमाडौँ।

स–साना नानीले रमाई रमाई ललिपप खाएको त हामीले सधैँ देखेका छौँ । हामीले पनि बालबालिकाको खुसीका लागि उनीहरुलाई मनपर्ने भन्दै ललिपप किनेर लगिदिने गरेका छौँ।lolipop 102125210

अब भने बालबालिकालाई मनपर्ने ललिपप खुवाउन पनि सावधान हुनुपर्ने अवस्था आएको छ। गुडलाइफ ग्लोपप नामक ललिपप खाएकै कारण बर्दिया सानोश्री ताराताल नगरपालिका–५ का चारजना स्कुले बालबालिका बिरामी परेपछि ललिपपमा अखाद्य वस्तुको समिश्रण हुने गरेको तथ्य बाहिर आएको छ।

एसियन बिस्कुट्स कन्फेक्सनरी प्रालि दुहवी, सुनसरीद्वारा उत्पादित अहिले पनि बिक्री–वितरण भइरहेको उक्त ललिपप खाएका कारण बर्दियाका चार बालबालिका बिरामी भएको राष्ट्रिय उपभोक्ता मञ्चले दाबी गरेको छ ।

मञ्चले मंगलबार यहाँ पत्रकारसम्मेलनको आयोजना गरी बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको उक्त ललिपप बिक्री–वितरण गर्न रोक लगाउन सरकारसँग माग गरेको छ । ललिपप खाएकै कारण बालबालिका बिरामी परेको भन्ने घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र त्यसलगत्तै उक्त ललिपपको गुणस्तर जाँच गर्दा त्यसमा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अखाद्य वस्तु भेटिएको मञ्चले जनाएको छ ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार ललिपप समात्ने स्टिकमा मेलाइक एसिड भन्ने रसायनको मात्रा अधिक रहेको र ललीपप बनाउँदा प्रयोग गरिने स्याउको जुस र उक्त रसायनको समिश्रणका कारण क्यान्सरसम्म हुन सक्ने रसायन बन्ने गरेको तथ्य फेला परेको छ । यसको नियमित प्रयोगले सुरुमा जिब्रोे फुट्ने, घाँटीमा समस्या आउने र अन्तिममा घाँटीको क्यान्सरसम्म हुन सक्ने देखिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस विषयमा गरेको विश्लेषण प्रतिवेदनले उक्त ललिपपमा प्रयोग हुने स्टिकमा खाद्य ऐन, २०२३ को मापदण्डविपरीत अखाद्य वस्तुको प्रयोग भएको देखिएको छ ।

विभागले तोकेको मापदण्डअनुसार सुगर ब्वाइल्ड कन्फेक्सनरीमा अखाद्य वस्तु जस्तैः सिटी, बेलुन, प्लास्टिक खेलौना र अन्य हानिकारक वस्तु तथा सेवन गर्दा स्वास्थ्यमा हानि पुर्याउने अन्य वस्तु राख्न नपाइने उल्लेख भएपनि उक्त ललिपपमा प्लास्टिकको नलीभित्र सजिलै भाँचिने ग्लास ट्युब रहेको र उक्त ट्युबभित्र पहिचान हुन नसकेको चम्किने र गन्ध आउने रसायन भेटिएको भन्ने नतिजा विभागको परीक्षणमा देखिएको थियो ।

अध्यक्ष महर्जनले कार्यक्रममा प्रत्यक्ष देखाउँदै ललिपपको स्टिकमा प्रयोग भएको एक किसिमको प्लास्टिकको पाइपनलीलाई घर्षण गर्दै अलिकति बङ्ग्याएका थिए, बङ्ग्याउनासाथ नलीभित्रको एक प्रकारको झोल स्वतः बग्न थाल्यो । उनले भने, “यो कुरा बालबालिकाका लागि अत्यन्त कौतुहल र आकर्षक लाग्ने चीज हो तर त्यही चीजका कारण उनीहरुको स्वास्थ्यमा असर परिरहेको छ ।”

विभागले यही असार १ गते नै ललिपपका उत्पादकलाई त्यस्तो अखाद्य वस्तुको उत्पादन बन्द गर्न र बजारमा बिक्री–वितरणका लागि गइसकेका सामान फिर्ता लिन लगाउन आदेश दिइसकेको भएपनि झापा, सुनसरी, मोरङ, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, बाँके र बर्दियामा अझै पनि बिक्री–वितरण भइरहेको अध्यक्ष महर्जनले बताए ।

उनले गत जेठ १८ गते विभागलाई उपभोक्ताको स्वास्थ्य र उपभोक्ता हक अधिकारमाथि खेलबाड गरी आफ्नो उत्पादनको बिक्री–वितरण बढीभन्दा बढी अधिकतम नाफा मात्र खान खोज्ने उत्पादकमाथि हदैसम्म कानुनी कारबाही हुनुपर्ने भन्दै मञ्चले आग्रह गरेको बताए ।

विभागले उक्त अखाद्य वस्तुको उत्पादन बन्द गर्न र बजारमा बिक्री–वितरणका लागि गइसकेका सामान फिर्ता लिनका लागि आदेश दिने काम मात्र गरेकाले आफूहरुले पुनः असार १ गते कानुनी कारबाही पनि गर्न तोकतापत्र लेखेको उनले जानकारी दिए ।

त्यति हुँदा पनि उत्पादक कानुनी कारबाहीमा नआएकाले मानव स्वास्थ्यमा खेलबाड गर्ने उत्पादकमाथि कारबाही गर्न उहाँले सरकारसँग माग गरे । रासस