काठमाडौं । यस वर्षको इमेज च्यानल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ वरिष्ठ संगीतकार दीपक जंगमलाई दिइने भएको छ ।

इमेज च्यानलले दुई दशकदेखि वार्षिक रुपमा आयोजना गर्दै आएको सांगीतिक वृत्तको सबैभन्दा ठूलो सम्मान इमेज अवार्डको १९ औँ संस्करण शुक्रबार आयोजना गरिँदै छ ।

नेपाली सांगीतिक क्षेत्रको उत्थान, संगीतकर्मीको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिका लागि गीत, संगीत र साधकलाई उत्साही बनाउने उद्देश्यका साथ सम्मान दिइने भएको ‘इमेज च्यानल’का अध्यक्ष एवं प्रबन्ध निर्देशक आरके मानन्धरले बताए ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि गीत, संगीत, रचना, संगीत संयोजनलगायत म्युजिक भिडियो र सार्वजनिक रुचि (पब्लिक च्वाइस) समूह गरी २३ विधामा विजेता घोषित गरिने छ । सबै विधाका उत्कृष्ट पाँच/पाँच मनोनयन सार्वजनिक गरी त्यसकै आधारमा विज्ञको रोजाइ र दर्शकको मतका आधारमा विजेता घोषणा गरिने उनले बताए ।

विसं २०७३ असार १ देखि २०७४ साल जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीतका एल्बम, म्यूजिक भिडियो एवं सिंगल ट्रयाकलाई मनोनयनमा समावेश गरिएको छ । बाइस विधाका मनोनयनलाई नेपाली सांगीतिक क्षेत्रका विज्ञले मूल्यांकन गरेर पुरस्कृत गरिने छ ।

उत्कृष्ट सर्जक चयनका लागि प्राविधिक मत संगीत क्षेत्रका विज्ञबाट नै लिई विजेता घोषित गरिने छ । यस पटक पनि सार्वजनिक रुचि सम्मानका लागि एसएमएस मतमार्फत विजेता चुनिने छ ।