२६ असोज, काठमाडौं । लामो समयपछि आज प्रमुख तीन दलको बैठक बसेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुले चुनाव तोकिएकै मितिमा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन् ।

वाम गठबन्धन निर्माणपछि सरकारले चुनाव सार्नसक्ने आशंकाले एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई चुनावबाट नभाग्न चेतावनी दिएका हुन् ।

बैठकमा ओली र प्रचण्डले माओवादी केन्द्रका मन्त्रीहरु नहटाउन पनि आग्रह गरेका छन् । निर्वाचन आचारसंहित विपरित हुने र त्यसले चुनावलाई प्रभाव पार्ने भन्दै यस्तो आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

जवाफमा प्रधानमन्त्री देउवाले मंसिर १० र २१ मा निर्धारित निर्वाचन कुनै हालतमा नसर्ने बताए । प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता विपरित आफूले कुनै गतिबिधि नगर्ने प्रतिबद्धता जनाएको बैठकमा सहभागी एमाले नेता नेम्वाङले बताए ।