२ असोज, इस्लामावाद, ।पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी श्रीमतीले लाहोरमा भएको संसदको उपनिर्वाचनमा विजय हासिल गरेको खबर छ ।

पाकिस्तानको सर्वाेच्च अदालतबाट गत जुलाइमा सांसद पद सम्हाल्न समेत अयोग्य ठहर गरी हटाइएका यहाँका वरिष्ठ राजनीतिज्ञ शरिफकी श्रीमतीले उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकी थिइन ।

सोमबार बिहान सार्वजनिक गरिएको अनौपचारिक नतिजाअनुसार कुलसूम नवाजले आफ्ना निकटतम प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार मत बढी ल्याएकी छन ।

लाहोरका स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार उनले ६१ हजार २५४ मत प्राप्त गरेकी छन ।

एक बहुचर्चित भ्रष्टाचारसम्बन्धी मुद्दा, पानामा पेपर्समा हालसालै पाकिस्तानको सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सांसद पद समेत धारण गर्न योग्य नहुने ठहर गरेपछि उनी राजीनामा दिएर बसेका छन ।

पूर्व प्रधानमन्त्री शरिफको राजीनामापछि नै उक्त निर्वाचन क्षेत्रमा उपचुनाव भएको थियो । सो चुनावमा सत्तारुढ पीएमएलएन पार्टीबाटै उठेर उनले सो बिजय हासिल गरेकी हुन ।

कुलसुम हाल क्यान्सर रोगबाट पीडित छन । उनी लन्डनको एक अस्पतालमा उपचाररत छन ।

आफूले विजय हासिल गरेको खबर थाहा पाएपछि कुलसुमले आफूलाई मतदिने मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको उनकी छोरी मारयाम शरिफले विज्ञप्तिमार्फत जानकारी दिएकी छन ।

उक्त विजयपछि पाकिस्तानको सत्तारुढ दल पिएमएलएनले चुनावी नतिजाले नवाज शरिफलाई भ्रष्टाचारको मुद्दामा राजनीतिक षड्यन्त्रको शिकार बनाइएको पुष्टि गरेको प्रतिक्रिया दिएको छ । (रासस/सिन्ह्वा)