११ वैशाख, पर्सा।
अचानक बढेको गर्मीका कारण तराईका जिल्लामा ‘लु’ लाग्ने खतरा बढेको छ । गत चैत महिनाको दोस्रो सातादेखि नै एक्कासि बढेको गर्मी र दिउँसोको समयमा चल्ने तातो हवाको कारण तराईवासीमाथि लु को खतरा बढेको चिकित्सकले बताएका छन् ।

बारा, पर्सा लगायत मध्यतराईका जिल्लामा अहिले दिउँसोको तापक्रम ४१ डिग्री सेन्टिग्रेटभन्दा माथि उकालो लागेको बेला शरीरबाट अत्यधिक पसिना निस्कन गई व्यक्तिमा निर्जलीकरण हुने र लु लाग्ने खतरा बढेको चिकित्सको भनाइ छ ।

टाउको दुख्ने, अत्यधिक पसिना आउने, बेहोस हुने जस्ता लक्षण देखिए लु लागेको बुझनुपर्ने र त्यस्ता व्यक्तिलाई तत्काल नजिकको अस्पताल लैजानुपर्ने वरिष्ठ फिजिसियन तथा इमरजेन्सी मेडिसिन विशेषज्ञ डा उदयनारायण सिंहको सुझाव छ । उहाँले दम, मधुमेह, मिर्गौला लगायत दीर्घ रोगी, वृद्धवृद्धा तथा बालबालिकामा रोगप्रतिरोधात्मक शक्ति कम हुने भएकाले बढी सचेत हुनुपर्छ भने । लु लागेको व्यक्तिले चाँडै उपचार नपाए मृत्युसम्म हुन सक्छ ।

गर्मी याममा लुबाट जोगिन तराईवासीले बढी तरल पदार्थको सेवन गर्न तथा दिउँसो घरबाट बाहिर ननिस्कन वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालका वरिष्ठ फिजिसियन डा मनोज गुप्ताले सुझाव दिए । उनले बाहिर निस्किनै परे सुतीको पातलो कपडा लगाउनाको साथै टाउकालाई छाता वा अन्य वस्तुले छोप्न सर्वसाधारणसँग आग्रह गरे । सर्वसाधारणलाई लु बाट जोगिन जीवनजल, फलफूलको रस र बढी मात्रामा पानी पिउन पनि चिकित्सकले आह्वान गरेका छन् ।