१४ कात्तिक, हङकङ ।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकमानसँगै राजनीतिक दल र अन्य क्षेत्रका भ्रष्टाचारीहरुलाई पनि कारवाही हुनुपर्ने बताएका छन् ।

आइतबार बिहान हङकङमा आयोजित अन्तरक्रियामा बोल्दै संयोजक भट्टराईले अख्तियारले छानबिन गरेको दलका नेताहरुको भ्रष्टाचारको मुद्दा पनि अगाडि बढाइनुपर्ने बताए । अख्तियार प्रमुख लोकमान सिंह कार्की प्रकरणको बारेमा चर्चा गर्दै उनले एउटा चोर देखाएर हजार चोर उम्कन नमिल्ने धारणा राखे ।

baburam-in-china

‘लोकमानलाई पनि म ठिक भन्दिनँ, यसबारेमा सार्वभौम संसदले प्रक्रिया अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘तर चोरैचोरको बीचमा एउटा चोरलाई देखाएर हजार चोरहरु उम्कनु भएन ।’ उनले अख्तियारले अगाडि बढाएको भ्रष्टाचारको मुद्दालाई पनि अगाडि बढाउनुपर्ने र लोकमानसँगै पार्टीभित्रका भ्रष्टाचारीहरुलाई पनि कारवाही हुनुपर्नेमा जोड दिए ।

 भगवान बुद्ध र बुद्ध धर्मको विषयमा थाइ पोर्नस्टारले गरिन् अपत्यारिलो दावी

संयोजक भट्टराईले अख्तियारजस्तो उच्च संवैधानिक निकायमा दलहरुले भाग लगाएको प्रतिनिधि पठाउन नहुने धारणा राखे । उनले नेपालको राजनीति भ्रष्टाचारको अखडा बनेको भन्दै यसलाई नरोकी समृद्धि हुन नसक्ने बताए ।

‘चुहिएको भाँडोमा पानी हालेर भाँडो नभरिएजस्तै देश धनी भएर मात्र जनता धनी हुँदैनन्,’ उनले भने, ‘राजनीति भ्रष्टाचारको अखडा भयो, व्यवसायमा असफल भएर राजनीतिमा लाग्नेहरु बढे, कुनै लगानी र जोखिमबिना चाकरी गरेर रातारात नेता बन्ने र चप्पल लगाएर राजनीतिमा छिरेका मान्छे रातारात अरबपति बन्ने अवस्था सिर्जना भयो ।’

उनले राजनीतिलाई जनताको सेवा गर्ने संस्था बनाउनुपर्ने भन्दै नयाँ शक्तिले पार्टीभित्रको भ्रष्टाचार रोक्न स्वतन्त्र अनुशासन आयोग र अधिकारसम्पन्न लोकपाल बनाउन लागेको बताए । ‘हामीले सर्वोच्चका अवकाशप्राप्त न्यायाधिसको नेतृत्वमा स्वतन्त्र र शक्तिशाली लोकपाल बनाउँदैछौं, यो छिट्टै घोषणा गर्ने छौं,’ उनले स्पष्ट पारे ।

चिनियाँ मिडियामा बाबुरामले भने- मैले पहिले नै भनेको थिएँ…

पूर्व प्रधानमन्त्रीसमेत रहेका संयोजक भट्टराईले दुई ठूला छिमेकीसँग झुकेर र भुकेर भन्दा सन्तुलित सम्बन्ध बनाएर लाभ लिन सकिने धारणा राखे । ‘हामी झुक्ने पनि होइन, भुक्ने पनि होइन,’ उनले भने, ‘हाम्रो पुर्खाले तोपको विरुद्ध खुकुरी नचाएर बचाएको देशको स्वाधिनता बचाउन सक्नुपर्छ ।’ उनले नेपाल दुई ढुंगाबीचको तरुल नभएर दुई सागरबीचको गतिशील पुल हुनुपर्नेमा जोड दिए ।

‘चीनले सडक विस्तार गर्नुका पछाडि बजार बिस्तार गर्ने स्वार्थ होला,’ उनले भने, ‘तर हामीले पनि यसबाट फाइदा लिनसक्छौं । यी दुई विशाल बजारलाई जोडेर, यहाँका ठूला लगानी कर्ता भित्र्याउन सके, नेपालले पनि हङकङले जस्तै विकास गर्न सक्छ ।’

नेता भट्टराईले ८० वर्ष लोकतन्त्रको लागि लडेर पनि ठिक प्रणाली बनाउन नसकिएको भन्दै नेपालको जनशक्ति, प्राकृतिक स्रोत साधन प्रयोग गरेर छिट्टै समृद्ध मुलुक बनाउन सकिने अवधारणा अगाडि सारे । ‘विश्वको औसत प्रतिव्यक्ति आम्दानी ४–५ हजार डलर छ भने धनी देशको प्रतिव्यक्ति आय ४०–५० हजार डलर छ,’ उनले भने, ‘तर हाम्रो प्रतिव्यक्ति आए ७०० डलर पनि छैन, यो भनेको दैनिक दुई डलर हो ।’ उहाँले नेपाल यसरी विकासको पिंधमा कहिलेसम्म रहने भन्दै अब विकास र समृद्धिलाई अर्जुनदृष्टि बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘विकास कसरी हुन्छ ? सबैतिर एकै किसिमले विकास हुँदैन । हाम्रो देशमा आफ्नै विकासको बाटो हुनसक्छ । विज्ञहरुलाई समेत राखेर विकासको नक्सा कोरेका छौं,’ उनले भने, ‘राजनीतिक स्थिरता र जनताको व्यापक सहभागितामा १५ वर्षभित्र ४००० डलरमा प्रतिव्यक्ति आय बनाएर मध्यम स्तरको विकसित नेपाल बनाउन सकिन्छ ।’ उनले आफू अझै २५ वर्ष बाँचे १२ हजार डलर प्रतिव्यक्ति आम्दानी भएको हङकङजस्तै विकसित नेपाल देखेर मर्ने धोको रहेको बताए ।

संयोजक भट्टराईले सिंगापुरमा लि क्वान युले ३० वर्ष, मलेसियामा महाविरले २२ वर्ष र कोरियामा एकैजनाले १८ वर्षसम्म शासन गरेर विकसित तुल्याएको उदाहरण दिँदै नेपालमा राजनीतिक अस्थिरता विकासको बाधक भएको बताए । ‘म जम्मा ९ महिना प्रधानमन्त्री भएँ, ९ महिनामा त भगवानले पनि केही गर्न सक्दैन,’ उनले भने, ‘अबको संविधान संशोधनमा प्रत्यक्ष कार्यकारी प्रणालीमा जानुको विकल्प छैन, यसको लागि सबैले आवाज उठाउनुपर्छ ।’

नेता भट्टराईले नेपालमा पार्टीभित्रको लोकतन्त्रमा पनि समस्या रहेको भन्दै नयाँ शक्तिले एक व्यक्ति एक पद, एक व्यक्ति दुई कार्यकाल र प्रत्यक्ष निर्वाचित नेतृत्वको व्यवस्था गरेको बताए । ‘नेपालमा एउटै जाति र परिवारबाट नेतृत्वमा पुग्ने र युवाहरु नेतृत्वमा नपुग्ने समस्या छ,’ उनले भने, ‘विकास र समृद्धिको लागि युवा पुस्तालाई नेतृत्वमा पुर्‍याउनुको विकल्प छैन ।’

कम्युनिष्ट भनिने चीनमा समेत अहिले युवा नेतृत्व हावी भएको आफूले पाएको बताउँदै उनले नेपालमा लोकतन्त्रवादी भन्नेहरुले राजनीतिक दललाई बुढाहरुको पार्टी बनाएको बताए ।

स्मरण रहोस् बाबुराम भट्टराईले आफूमाथि चीनमा अपमान भएको बताएका थिए । शनिबार साँझ समाजिक सञ्जाल मार्फत उनले आफू अपमानित भएको बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई हाल चीनको भ्रमणमा रहेका छन् ।