६ चैत, काठमाडौ । नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले लामो समयदेखि रिक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व मुख्यसचिव लोकमानसिंह कार्कीलाई नियुक्त गर्न सिफारिस गरिएको भन्ने समाचारप्रति दुःख व्यक्त गरेको छ ।
आयोगद्धारा आज प्रकाशित विज्ञप्तिमा मुलुकमा व्याप्त भ्रष्टाचार तथा अनियमियततालाई रोक्न प्रभावकारी भूमिका खेल्नुपर्ने अख्तियारमा विगतमा उच्चस्तरीय जाँचबुझ आयोग र अख्तियार स्वयम्ले समेत दोषी, अयोग्य ठहर्याएको व्यक्तिलाई बिना विश्लेषण नियुक्ति गर्न प्रमुख दलका नेताहरूले सिफारिस गर्नु ज्यादै गैरजिम्मेवार हो भनिएको छ ।
आयोगका अध्यक्ष अमृतकुमार बोहराद्धारा हस्ताक्षरित सो विज्ञप्तिमा आयोगको प्रमुखका लागि गरिएको सिफारिस अविलम्ब फिर्ता लिन माग गर्दै पार्टी अध्यक्ष झलनाथ खनालको ध्यानाकर्षण गराइएको छ । रासस