बाेमलाल गिरी

२४ साउन, हेटौंडा ।

कुलेखानी जनविद्युत आयोगजना (तेस्रो) निर्माणकाे कामले गति लिन नसक्दा उर्जामन्त्री महेन्द्र बहादुर शाही र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ चिन्तित देखिएका छन् ।

ठेकेदारको लाप्रवाहीले पटक पटक म्याद थप्दा पनि निर्माणको कामले गती लिन नसक्दा लोडसेडिङ बढ्ला कि भन्ने चिन्ताले अहिले दुबै जनालाई पिरोलिरहेको छ ।

लोेडसेडिङ अन्त्यको विकल्प खोज्न गत शनिबार ऊर्जामन्त्री महेन्द्रबहादुर शाही, ऊर्जासचिव अनुपराज उपाध्याय र नेपाल विद्युत प्राधिरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कुलेखानीको जलासय, कुलेखानी आयोजना पहिलो, दोस्रो र निर्माणाधित तेस्रो आयोजना तथा ढल्केबर सवस्टेसनको अनुगमन गरे ।

कुलेखानी तेस्रो आयोजना पूरा भएमा १४ मेगावाट बिजुली थपिन्छ भने ढल्केबर सवस्टेशन पूरा भएमा भारतबाट थप २५० मेगावाटसम्म बिजुली ल्याउन सकिन्छ ।

ढल्केबर सवस्टेसनको कामले केही गति लिएको देखिएपनि कुलेखानी तेस्रो अझै अनिश्चित देखियो । कुलेखानी तेस्रो सन २०११ मा सम्पन्न गर्ने गरी सन २००८ देखि सुरु भएको थियो । तर अहिलेसम्म पूरा भएको छैन ।

उक्त आयोजनाको सात पटक म्याद थप भइसकेको छ भने बजेट झण्डै दोब्बर भएको छ । २ अर्व ४५ करोडमा ठेक्का सम्झौता भएको आयोजनाको बजेट बढेर अहिले ४ अर्व २५ करोड पुगिसकेको आयोजनाले जनाएको छ ।

यसको निर्माणको जिम्मा सिनो हाइड्रो र झेझियाङ जिल्लुङले संयुक्त रूपमा पाएका छन्। । अहिले यस आयोजनाको सिभिलतर्फको काम झण्डै ९० प्रतिशत सकिए पनि इलेक्ट्रो मेकानिकलतर्फको काम भने ६० प्रतिशत मात्रै भएको छ । टर्बाइन र अन्य मेसिन जडान भएका छैनन् । टनेलको आउटलेट गेट बनेको छैन ।

धमाधम काम हुँदा ६ महिनामा पूरा हुने आयोजनाको बिजुली आउँदो हिउँदमा प्रयोग गर्ने प्राधिकरणको योजना पूरा हुने संभावना कम छ । इलेक्ट्रो मेकानिकलतर्फको ठेक्का पाएको झेझियाङ जिल्लुङको नेपाल प्रतिनिधि हुलास कम्पनीले काममा ढिलाइ गरेको नेपाल विद्युत प्राधिकरणका उपप्रबन्धक इन्दिवर घिमिरेले बताए ।

उक्त कम्पनीको नेपाल हुलास कम्पनीका प्रतिनिधि शरद गोल्छाले अबको २ महिनामा धेरै काम हुने बताए । यसअघिको सरकारका प्रधानमन्त्री र मन्त्रीहरुलाई जस्तै उनीहरुले अझै पनि हुन्छ हुन्छ भनेर टारिरहेका थिए । तर उक्त कुरामा शाही र घिसिङ विस्वस्त थिएनन् ।
हेर्नुस भिडियो :