१३ असार, काठमाडौं । सरकारले चिनियाँ अवधारणा बेल्ट एन्ड रोड (बीआरआई) अन्तर्गत परियोजना छनोट तथा कार्यान्वयन अघि बढाउन दुई उच्चस्तरीय संयन्त्र गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले गत बिहीबार बेल्ट एन्ड रोड अवधारणाअन्तर्गत परियोजना छनोट तथा कार्यान्वयनलाई सहजीकरण गर्न परराष्ट्र र अर्थ सचिवस्तरमा भिन्दाभिन्दै समिति गठन गरेको हो ।

परराष्ट्रसचिव शंकरदास बैरागी नेतृत्वमा गठित उच्चस्तरीय समितिले अर्थ, भौतिक योजना, वाणिज्य, उद्योग, ऊर्जा मन्त्रालय र राष्ट्रिय योजना आयोगलगायत सरकारी निकायले बेल्ट एन्ड रोड अवधारणाअन्तर्गत आगामी दिनमा परियोजना छनोट तथा कार्यान्वयनबारे गर्ने काम-कारबाहीको नियमित प्रगति समीक्षा गर्नेछ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

अर्थसचिव शान्तराज सुवेदी नेतृत्वको उच्चस्तरीय समितिले सबै सरकारी निकायसँग मिलेर बेल्ट एन्ड रोड अवधारणाअन्तर्गत बनाइने विषयगत परियोजनाका लागि प्रस्ताव तयार पार्ने र कार्यान्वयनमा अघि बढ्न सहजीकरण गर्नेछ । मन्त्रिपरिषद्को निर्णयअनुसार यी दुई उच्चस्तरीय समितिको कामलाई सहयोग पुग्ने गरी मन्त्रालयले आन्तरिक रूपमा समेत विषयगत उपसमिति बनाउन सक्नेछन् ।

परराष्ट्रसचिव बैरागीले चिनियाँ अवधारणा बेल्ट एन्ड रोडको फ्रेमवर्कभित्र रहेर नेपाल र चीनबीच द्विपक्षीय सहकार्य अघि बढ्ने र बेल्ट एन्ड रोड अवधारणाभित्रका परियोजना कार्यान्वयनका लागि उच्चस्तरीय संयन्त्र गठन भएको अन्नपूर्णलाई जानकारी दिनुभयो । ‘चीनसँग पूर्ववर्ती सरकारले गरेका सहमति र सम्झौतालाई पनि कार्यान्वयन गर्दै लगिनेछ’, सचिव बैरागीले भन्नुभयो ।

देउवा नेतृत्वको सरकारले चिनियाँ अवधारणा बेल्ट एन्ड रोडअनुसार काम अघि बढाउने हो या होइन भन्ने आशंकाबीच सरकारको यो पछिल्लो निर्णयले चिनियाँ पक्ष आशावादी देखिएको एक सरकारी अधिकारीले अन्नपूर्णलाई बताए । नेपाल-चीनबीच गत मंगलबार काठमाडौंमा सम्पन्न परराष्ट्र सचिवस्तरीय बैठकमा बेल्ट एन्ड रोड अवधारणाअन्तर्गतको द्विपक्षीय सहकार्यलाई व्यावहारिक रूपमा कार्यान्वयनमा लैजान आवश्यक सरकारी संयन्त्र बनाउने सहमति भएको थियो ।

नेपाल-चीनबीच वैशाख दोस्रो साता बेल्ट एन्ड रोड अवधारणासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि विश्वका अन्य ६५ मुलुकसँगै नेपाल उक्त अवधारणामा सहभागी मुलुक बनेको थियो । परराष्ट्र सचिवस्तरमा दुई देशबीच भएको द्विपक्षीय छलफलमा बेल्ट एन्ड रोड अवधारणाको फ्रेमवर्कभित्र रहेर विकास, भौतिक पूर्वाधार, जलस्रोत, व्यापार र कनेक्टिभिटीका परियोजना अघि बढाउने सहमति भएको थियो ।