१९ साउन, काठमाडौं ।

आगामी वर्ष भारतमा हुने ट्वन्टी–२० विश्वकप प्रतियोगितामा छनोटको लक्ष्यसहित डेढ महिनाअघि युरोप भ्रमणमा निस्केको नेपाली टोली अन्ततः रित्तो हातका साथ आज स्वदेश फर्केको छ ।

आयरल्यान्ड र उत्तरी आयरल्यान्डमा भएको छनोट प्रतियोगितामा अमेरिकालाई हराएर राम्रो सुरुआत गरेको नेपाल त्यपछिका सबै चार खेलमा हार बेहोर्दै प्रतियोगितामा सहभागी १४ टोलीमध्ये १३ औंँ भएको थियो । प्रतियोगितामा नेपालले खेलेको पाँच खेलमध्ये चार वटामा एक सयभन्दा बढी रन बनाउनसमेत सकेको थिएन ।

nepali cricket team

विश्व ट्वन्टी–२० छनोटमा नमिठो पराजय भोगेर छनोट हुन नसकेको नेपाली टोली त्ययहाँबाट स्कटल्यान्डसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको छनोट प्रतियोगिता खेल्न स्कटल्यान्ड पुगेको थियो । त्यहाँ पनि नेपाल दुवै खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो । वर्षाले प्रभावित दुवै खेलमध्ये पहिलोमा नेपाल तीन रनले तथा दोस्रोमा नौ विकेटले पराजित भएको थियो ।

युरोप भ्रमणको निराशजनक यात्रापछि आज स्वदेश फर्किएको नेपाली टोलीका कप्तान पारस खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै छनोट प्रतियोगितामा आफूहरूले खेल्न नसकेको स्वीकार गरे ।

नेपाली टोलीले यति कमजोर प्रदर्शन कहिल्यै नगरेको बताउँदै आफूहरूले बनाएको योजना सबै असफल भएको उनले जनाए । “प्रतियोगितामा कुनै एक दुई खेलाडी मात्र होइन, सिङ्गो टिम नै असफल भयो”, उनले भने ।

इङ्ल्यान्डमा चार अभ्यास खेल खेल्दै नेपालले प्रतियोगिताको तयारी गरेको थियो । त्यसपछि नेदरल्यान्ड्समा गएर ट्वन्टी–२० अन्तर्राष्ट्रिय चार खेल खेलेको थियो । त्यहाँ पनि नेपाल ३–१ ले पराजित भएको थियो । त्यससँगै नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को विश्व वरियतामा प्रवेश गरेको थियो तर आयरल्यान्डमा विश्वकपमा छनोट हुन नसकेपछि नेपाल बरियताबाटसमेत बाहिरिएको छ ।

विश्वकप छनोटको उपाधि जित्ने लक्ष्यका साथ आयरल्यान्ड गएको नेपाल टी –२० विश्वकपसँगै टी –२० मान्यता गुमाएर फर्किएको छ ।