कृष्ण चापागाईं

आधुनिक समय विज्ञान-प्रविधिको समय हो, भौतिक उन्नति र प्रगतिको समय हो । यहि भौतिकतामा रम्न मानिसले आफ्नो भौतिक र मानसिक स्वास्थ्यलाई दाउमा राखेर समाजका अगाडी सम्पन्न हुन खोजिरहेछ । कामकाजले गर्दा मानिसको खाने-सुत्ने समय अनियमित भैरहेको छ । स्वच्छ पिउने पानी र ताजा हावा त बिरलै भेट्न पाइन्छ विशेषतः शहरी क्षेत्रमा । काठमाडौं उपत्यकामा भैरहेको सडक विस्तार आदिले गर्दा उपत्यका धूलोमा चुर्लुम्मै डुबिसकेको छ । यस्तो समयमा मानव स्वास्थ्य अत्यन्त संवेदनशील अवस्थामा रहेको छ ।

त्यस्तै वर्तमान समयमा मानिसको खानपिन पनि अस्वस्थकर हुँदै गईरहेको छ । होटलहरुमा बासी र कमसल खानेकुराको बिग्बिगी छ भने तरकारीहरुमा विषाक्त औषधि र heavy metals को मात्रा बढी पाइन्छ भने पौष्टिक तत्वहरु निकै कम भेटिन्छ । अझ हामी आफै सभ्यताको नाममा चाउचाउ, चाउमिन जस्ता पोषणरहित फास्ट फूड्स हरुले भोक मेटाउछौं । फेरी बाटोमा हिंड्दा छ्यापछ्याप्ती जल गैडा जस्ता शरीरहरु देख्दा पनि सजिलै आँकलन गर्न सकिन्छ कि नेपालीहरुको स्वास्थ्य नाजुकता तिर मोडिदै छ भनेर ! कतिपय ठाउँहरुमा त दिनमा दश कप- गुलियो बढी हालेर -चिया पिउने प्रचलन पनि छ । दिनको दुई पटक औषधि खान बेवास्ता गर्ने हामी नेपाली खाना अघि र पछि चिया कफी पिउने बानी बसाल्छौँ अनि हामीलाई नै अनिद्रा , मधुमेह , ग्यास्टिक आदि नभए कसलाई हुने ? त्यस्तै तनावग्रस्त जीवनशैलीले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्दै गईरहेको छ । सीमा क्षेत्रमा तनाव, भूकम्पद्वारा सिर्जित त्रास एवम् विनाश आदिले पनि कति मानसिक समस्याहरु निम्ताएका छन ।

स्वास्थ्य सेवाको कुरा गरौँ , १०० डिग्री फरेनाइट तापक्रम हुने बित्तिकै फ़ार्मेसिबाट सिटामोल किनेर खान्छौं र कम हुनासाथ निको भयो भन्छौं जबकी ज्वरको कारण पत्ता लगाएर तदनुसार उपचार गरिनुपर्छ । त्यस्तै आफैले gastritis निम्ताउँछौं र फेरी pantoprazole को लत लगाउँछौं , तर चिया-कफी छाड्न सक्दैनौं । जबकी चिया-कफी कम गर्ने र सामान्य गाउघरमा पाइने घिउकुमारी, लसुन आदिको प्रयोग गर्नाले मात्र पनि यो धेरै कम हुन्छ । फेरी सामान्य रुघा-खोकी-ज्वरो आउँदैमा क्लिनिक जान्छौं जहाँ सबै समस्याको “रामवाण” जस्तैगरि antibiotics दिइन्छ र कालान्तरमा antibiotic प्रतिरोधत्वको सिकार बन्न पुग्छौं ।

अतः अहिलेको समयमा मानव स्वास्थ्य निकै धरापमा छ। संयमित खानपान र स्वच्छ हावा-पानी आजको आवश्यकता हो । केही समय यता चलनमा ल्याउन खोजिएको ग्रिन फार्मिंग का उत्पादनहरुलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ भने बजारमा गुणस्तर नियन्त्रणको काम अझ प्रभावकारी बनाइनुपर्ने देखिन्छ । नियमित खान-पान , योग , ब्यायामको राम्रो व्यवस्था मिलाउनु अत्यन्त आवश्यक छ । सबैभन्दा महत्वपूर्ण त प्रत्येक नेपालीलाई अब उपचारात्मक भन्दा पनि निवारात्मक र स्वास्थ्य प्रबर्धनात्मक सेवाको खाँचो देखिन्छ । कालान्तरमा गएर एकदिन हामीले भन्नु नै पर्छ कि मानव स्वास्थ्यका लागि “प्रकृतितर्फ फर्क” को सिद्धान्त साच्चिकै दुरदर्शी सिद्धान्त रहेछ ।

Bachelor of Ayurvedic Medicine & Surgery (BAMS)
चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस किर्तिपुर