१ वैशाख, जनकपुरधाम ।

वर्षको एक दिन मात्र फुल्ने फूल ! सुन्दा अचम्भ लाग्छ तर यो सत्य हो । पूर्व–पश्चिम राजमार्ग खण्डअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन राजा फूलबारीमा यस्तै फूल देख्न पाइन्छ ।

सलहेस फूलबारीको नाामले प्रसिद्ध रहेको सो ऐतिहासिक फूलबारीमा प्रत्येक नयाँ वर्ष वैशाखको पहिलो दिन त्यहाँ रहेको हारमको रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ पख मौलाएर जान्छ ।

सो रुख फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर (मन्दिर) सँगै टाँसिएको सो रुखमा वर्षको एकदिन एकाबिहानै फूल फुल्नु र साँझपख मौलाएर जानु आजसम्म रहस्यनै बनेको छ ।

माला आकारको सेतो फूलको थुङ्गा जस्तो देखिन्छ र साँझपख मौलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ । ती रुख के का हुन् कसरी यतिका वर्षसम्म बाँचिरहेका छन् भन्ने खोजको विषय हो । वनस्पतिविद्हरूका अनुसार छैटौँ÷सातौँ शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन ।

Amazing flower sunakhari

राजा सलहेस को थिए, कसरी एउटा दुसाद (दलित) जातिका व्यक्ति राजा भए र राजा सलहेसको जीवनगाथासँगै सलहेस फूलबारी र वर्षको एक पटकमात्र फुल्ने फूलका बारेमा पनि एउटा रोचक तथा सत्य घटना रहेको छ ।

छैटौँ÷साताँै शताब्दीतिर त्यस बेला मिथिला भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो । त्यो ठाउँ अहिले सिरहा नगरपालिकामा पर्दछ । त्यसबेला त्यहाँका सामन्त, जमिन्दार, भैरव, भूपाल, सोनम र मन्दोदरीको कोखबाट एउटा इन्द्रस्वरुप वीरबालक जयवद्र्धन (सलहेस) को जन्म भएको थियो । सानैदेखि सौर्यवान प्रखर वुद्धिमान धनी र शौर्यशाली थिए सलहेस ।

सलहेसको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो । त्यसबेला उत्तरमा किराँत प्रदेश तिब्बत र भुटानतिरबाट आर्यवर्तमा अन्नबाली पशु लुटेर लान बारम्बार आक्रमण हुने गर्दथ्यो । बारम्बार हुने भोट र किराँतको आक्रमणलाई रोक्न सलहेसका बुबा भूपाल सोमदेव तरेगना गढ (हालको लहान बजारभन्दा चार किलोमिटर उत्तर तर्फ) का राजा हिन्दुपति शम्सेर भण्डारीलाई सघाउन गए ।

भोट र किराँतसँग भएको युद्धमा भूपाल सोमनदेव सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सलहेस महिसोथा गढको गदपति बने । सलहेस गढपति भएपछि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयका पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो शैन्य सङ्गठनलाई सुसङ्गठित पारेका थिए ।

पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सलहेस समातिएपछि मालिनी भन्ने सुन्दरीले सहयोग गर्दा सलहेस र मालिनीबीच प्रेम भएको भन्ने किम्वदन्ती रहिआएको छ ।

राजा सलहेस दलितमध्ये दुसाध जातिका भएकाले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेसको गहवर बनाई देउताको रुपमा पूजा गर्ने परम्परा रहिआएको छ ।

लहान नगरपालिकादेखि चार किलोमिटर पश्चिम दक्षिणमा १२ बिगाहा क्षेत्रफलमा फैलिएको धार्मिक फूलबारीमा हारनको रुखमा वैशाख १ गतेका दिन मात्र सोनाखरी फूलमाला देखा पर्छन् र दिन ढल्दै जाँदा उक्त माला विस्तारै मौलाउँदै जान्छन् । अचम्भको उक्त फूल हेर्न भारतबाट समेत असङ्ख्य श्रद्धालु आउने र मेला भर्ने गर्दछन् ।

किम्वदन्तीअनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतिक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् । साँचो मनले जसले भाकल गर्छ उसको मनोकामना पूरा हुने जन विश्वास छ । मेलाको दिन दर्जनौं युवायुवतीको जोडी आएर ती फूललाई साक्षी मानी प्रेम विवाह गर्ने गर्छन् ।

सिरहा जिल्लाभित्र राजा सलहेसको गाथासँग जोडिएको धार्मिकस्थलको खोजी गरी सरकारले सो संरक्षण गर्नसके राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन सक्ने प्रेस काउन्सिल नेपालका सदस्य चन्द्रदेव कामती भन्नुहुन्छ ।

यो मात्र एउटा यस्तो देउता हो जसलाई सबै समुदायका मान्छेले पुज्ने गर्छन् । राजा सलहेसको गथालाई जीवन्तता दिन अहिले पनि गाउँ–गाउँमा गीत र महराइमार्फत सलहेस गाथा गाउने परम्परा जीवितै रहेको छ ।

आफ्ना समयमा पराकर्मकै बलमा नागरिकलाई सुशासनको प्रत्याभूति गराउने लोक देउवा सलहेसको जीवन गाथासँग जोडिएको धार्मिक तथा ऐतिहासिकस्थल सलहेस फूलबारी, मानिकद, पकरिया गढ, पतारी पोखरीको विकासमा सरकारले ध्यान दिनसके यसले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुनुको साथै ग्रामीण अर्थतन्त्रको विकासमा थप टेवा पुग्ने देखिन्छ ।

उनी मिथिलाका यस्ता गौरवशाली ऐतिहास बोकेका धरोहरको संरक्षण सम्बद्र्धन र विकास गर्न सरकारले अग्रसरता देखाउनुपर्ने बताउँछन् ।

राष्ट्रिय गौरवको रुपमा रहेको यस्तो अनौठो फूलको सरकारीस्तरमा प्रचारप्रसार गर्नसके यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको धार्मिक पहिचान बनाउन सक्नेमा कोसेढुङ्गा सावित हुने डेली एक्सप्रेस दैनिक जनकपुरका कार्यकारी सम्पादक सञ्जीवकुमार झा बताउछन् ।

बिहानीपख फुल्ने र साँझपख मौलाएर जाने यस्तो अनौठो फूलको वैज्ञानिक अनुसन्धान हुनुपर्ने कार्यकारी सम्पादक झा ले बताए । रासस