२ भदौं, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन नचाहने शक्तिले अहिले पनि चुनाव हुन नदिने षड्यन्त्र गरेको बताएका छन् ।

वाईसीएलको एकताको दोस्रो सम्मेलनको आज काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले तीनवटै तहको चुनाव गरेर त्यसलाई पराजित गर्ने समेत बताए ।

तीन तहको चुनाव भएपछि मात्र मुलुक संविधान कार्यान्वयनको दिशामा जाने उनको भनाई छ । मुलुकमा ठूला राजनीतिक परिवर्तन भए पनि शासन प्रणाली नफेरिएको भन्दै अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा पार्टीले उठाएको बताए ।

माओवादी पार्टी एजेण्डाको हिसाबले अहिले पनि एक नम्बर रहेको भन्दै प्रचण्डले हिम्मत नहार्ने हो भने फेरि ठूलो पार्टी बन्न सक्ने दावी गरे ।

शान्ति प्रक्रियामा आउनुअघि सिंगो मधेस माओवादीमय भए पनि अहिले त्यसलाई जोगाउन नसकेको उनको भनाई छ । उनले अब वाईसीएललाई मेसिन गन चलाउने बिग्रेड नभई समृद्धिमा लाग्ने युवाहरुको फौज बनाउने बताए ।