प्रकाश सिलवाल

२८ फागुन, काठमाडौँ ।

सिमसिम पानी परिरहेको थियो । शनिबारको बिहान झरी र नेपाल बन्दका बाबजूद विद्यालय तहका विद्यार्थी पनि बागमती सफाइ महाअभियानको दुई सयौँ शृखङ्लामा उत्साहपूर्वक सामेल थिए । कोहीका हातमा छाता थिए । कोही सफाइ अभियानको जनचेतनामूलक ब्यानर र प्लेकार्ड बोकेर उभिएका थिए । कोही हातमा पञ्जा लगाएर सेना र प्रहरीसँगै बागमतीको फोहोर उठाउन व्यस्त थिए । फोहोर उठाउने भन्दा रमाइलो मानेर हेर्ने र अभियानलाई ऐक्यबद्धता जनाउनेहरु बढी सहभागी यस अभियानमा युवा र विद्यार्थीहरुको सहभागिताले भोलिको नेपालका लागि पक्कै पनि सकारात्मक सन्देश भने दिएको छ ।

सफाइका लागि अभियानकर्ताहरु त हुने नै भए, राज्यको विशिष्ट तहका व्यक्तिदेखि समाजका सबै क्षेत्रको यो माहोलमा विद्यार्थीले आफ्नो सामाजिक कर्तव्यलाई पालना गर्दै देश विकासका लागि सामूहिक पहलको अनुभूति र सिकाइ हासिल गरेका छन् ।

सफाइ अभियानमा नियमित सहभागी राष्ट्रिय बिउबिजन कार्यालयमा कार्यरत जडीबुटी निवासी रामहरि सुवेदीको पहलमा अभियानमा सामेल कोटेश्वरस्थित माउन्ट सेब आवासीय मावि कक्षा ८ की रक्षा अर्याल सफाइ अभियानमा भाग लिन पाउँदा खुसी र रमाइलो अनुभव भएको बताउँछिन् । “हामीले ठूला ठूला फोहोर त उठाउन सकेनौँ, तर प्लास्टिक र कागजहरु उठाइयो ।” रक्षाले भनिन्, “हामीले घर, समाज र देशै सफा गर्ने अभियान चलाउनुपर्छ ।”

सोही विद्यालयका कक्षा ६ का एलिस केसी नष्ट नहुने फोहोरलाई बागमतीमा कसैले पनि नफाल्ने हो भने सफाइका लागि यति धेरै दुःख गर्नु नपर्ने बताउँछन् । ‘वृक्ष रोपौँ’ नामको व्यानर बोकेर अभियानमा सामेल नेपाल स्काउटका तर्फबाट अभियानमा आएका गोल्फुटारस्थित मञ्जरी मावि कक्षा ९ का विद्यार्थी दीक्षान्त बोहरा पानीमा भिजेर पनि आफूहरु उपस्थित हुनु मात्रले अभियानमा बल पुग्ने जनाउँछन् । गोष्टिक एकेडेमीमा कक्षा ६ मा अध्ययनरत मनिस केसी पनि महाअभियानले बागमती क्रमशः स्वच्छ हुने आशा व्यक्त गर्दछन् ।

नेपाल स्काउटका अधिकृत निरेन्द्र कार्कीका अनुसार स्काउटका तर्फबाट मात्रै करिब चार सय विद्यार्थी अभियानमा सहभागी भएका थिए । नेपाल शिक्षक महासङ्घका साथै, अभिभावकहरु, विद्यालय सञ्चालकहरुको संस्था प्याब्सन, एन प्याब्सन र हिसानको पनि अभियानमा संस्थागत सहभागिता थियो । रासस