२१ कात्तिक, काठमाडौं । बाम गठबन्धनले नेपाली कांग्रेस सत्तामा रहँदा कैयौंपटक विदेशी हस्तक्षेपलाई निम्त्याएको आरोप लगाएको छ ।
एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गर्दे बहुमत प्राप्त गरेको समयमा स्थीर सरकार दिन नसक्ने र प्रतिगमनलाई बढावा दिने कांग्रेसले निजीकरणका नाममा राष्ट्रिय उद्योगधन्दा र सार्वजनिक संस्थानहरू समाप्त पारेको समेत आरोप लगाएको छ ।

आज काठमाडौमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले संयुक्त घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा केही साना कम्युनिस्ट समूहहरू जडसूत्रीय, संकीर्णतावादी, आत्मकेन्द्रित र गुटवादी प्रवृत्तिका भएको उल्लेख गरिएको छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले घोषणापत्र एमाले र माओवादीको साझा अवधारणा भएको भन्दै घोषणापत्र कार्यन्वयन गरेरै छाड्ने दाबी गरे । उनले पार्टीको घोषणापत्र मात्र नभएर यो राष्ट्रको घोषणापत्र भनेर बुझ्न आग्रह गरे ।

आफ्ना योजना र घोषणापत्रलाई विपक्षीहरुले गलत ढंगले अपब्याख्या गर्न सक्ने भन्दै उनले गठबन्धनको लोकतन्त्रप्रतिको निष्ठामा शंका उपशंका नगर्न आग्रह समेत गरे । घोषणा पत्र सार्वजनिक गर्दे माओवादी अध्यक्ष दाहालले मुलुकको विकास र स्थायित्वलाई आधार बनाएर घोषणापत्र तयार गरिएको बताए ।

उनले घोषणापत्रमा विकास निर्माण, सामाजिक न्याय, उर्जा, लगायतका विषयलाई प्राथमिकतामा राखेको बताउँदै समावेश गरिएका विषयहरुलाई ३ बर्ष, ५ बर्ष र १० बर्षमा पुरा गर्ने लक्ष्य राखेको जानकारी दिए ।

बाम गठबन्धनको घोषणापत्रमा दैनिक ५ लाख पर्यटक भित्रयाउने, सूचना प्रविधिमा विदेशी लगानी निषेध गर्ने नीति अगाडी सारेको, सामाजिक सञ्जालालई जनमुखि बनाउने र विधिको शासन कायम गर्ने विषयलाई पनि उठाइएको छ ।

यस्तै पुर्ननिर्माण र पुनस्थापनाका विषयमा पनि बाम गठबन्धनको घोषणापत्रमा उल्लेख गरिएको छ भने भुकम्प पीडितलाई ३ लाख अनुदान र तीन लाख निव्र्याजी ऋण दिने नीति अघि सारेको छ ।