६ मंसिर, लहान । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने दाबी गरेका छन ।

सिरहाको लहानमा आज आयोजित चुनावी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले देशको विकास र समृद्धिका लागि वाम गठबन्धन बनेकाले जनताले गठबन्धनलाई बहुमत दिने दाबी गरे । ‘गठबन्धनको बहुमत आउने देखेर काँग्रेसलगायत दल अत्तालिएका छन्”–उनले भने ।

एमालेलाई कहिले लोकतन्त्र विरोधी, कहिले मधेश विरोधी त, कहिले विकास विरोधी भनी केही दलले प्रचार गर्दै आएको आरोप लगाउँदै उनले भने, “वृद्धवृद्धा र एकल महिलालाई भत्ता दिने, दलित, विपन्नलाई जनता आवास बनाउने निर्णय एमालेकै पालामा भएको छ, यसरी जनप्रिय र विकासको काम गर्ने एमाले कसरी लोकतन्त्र र विकास विरोधी हो ?”

सो अवसरमा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादवसहित विभिन्न पार्टीका दुई दर्जनभन्दा बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।