१३ वैसाख, काठमाडौ।

जसले नेतृत्व गरेर विदेश लग्यो उसलाई आफैले लगेका मान्छेबाट कुटाइ खानुपर्यो भने के हालत होला ? त्यो पनि उत्तर कोरियाजस्तो अत्यन्त कडा कानुन व्यवस्था भएको देशमा !

उत्तर कोरियाका संस्थापक राष्ट्रनेता किम इल सुङको १०५ औँ जन्मजयन्तीको अवसर पारेर नेपालबाट १५ जनाको समूह प्योङयाङ गएको थियो। जसमा फरक-फरक तीनवटा प्रतिनिधि मण्डल थिए। पुराना पत्रकार मञ्जुरत्न शाक्यको परिवारबाट चार जना थिए भने माणिकलाल दम्पती अर्को समुहमा थियो। शंकर भारती नेतृत्वको तीन जनाको अर्को समुह थियो। अनि झगडा पर्यो विप्लव समूहका अशोक सुवेदीले नेतृत्व गरेको ६ जनाको समूहमा। सुवेदीको टिममा त्रिविमा इतिहासका प्रा.डा. सुरेन्द्र केसी र हस्तबहादुर केसीसंगै थप तीनजना थिए। यो खबर आजको जनआस्था साप्ताहिकमा छापिएको छ।

काठमाडौंबाट सांघाई गएर त्यहाँबाट रेलमा सुवेदी समूह बेइजिङ पुग्यो। बेइजिङबाट चैत ३१ गते बिहिबार उत्तर कोरियाको राजधानी टेकेको टोली पुग्नासाथ आपसी अगडामा उत्रिएको हो। वैशाख ७ गतेसम्म प्योङयाङमा रहँदा विप्लव समूहका कटवाल, शाही र भण्डारीले आफ्नै नेता अशोक सुवेदीमाथि हात हालेका हुन् । विप्लव समूहबाट क्रान्ति गर्ने भन्दै घाँटीसम्म ट्याट्यु खोपेका तिनले विदेशमा नेपालको बेइज्जत गरेपछि आइन्दा भने उत्तर कोरियाले नेपालबाट प्रतिनिधि लाँदा विस्तृत सोधखोज गर्ने र नरेशसम्पत्ति शाक्यजस्ता फटिचरहरुलाई सहभागी नगराउने ललितपुरस्थित उत्तर कोरियाली दूतावासले जनआस्थालाई बतायो।

आफ्नै प्रतिनिधिमण्डलका नेतामाथि कुटपिट गर्नुपर्ने खास कारणचाहिँ पैसाको लेनदेन रहेको बुझिएको छ। सबै सहभागीबाट नेपाल कोरिया लेखक तथा पत्रकार संघका नाममा जनही तीन लाख रुपैयाँ उठाइएको रहेछ। भिसाका लागि थप २ सय डलर पनि लिएको बताइन्छ।कोरिया पुगेपछि  जम्मा डेढ लाख रुपैयाँ जति मात्र बाटो खर्च परेको र भिसा शूल्क नलागेको थाहा पाएपछि कुटपिटमा उत्रिएका रहेछन् । हाम्रो पैसा फिर्ता दिन्छन् कि यहीँ मारिदिऊँ भन्दै अशोक सुवेदीलाई बाथरुममा लगेर युवाले मुड्की हानेको पार्टीमा उजुरी छ।  उत्तर कोरिया पुगेका ४५ देशका पाहुनालाई आयोजकले वनभोज लगेको थियो। त्यहाँ पेय पदार्थ नि:शुल्क थियो। गोर्खालीले भेटेको नि:शुल्क रक्सी,  त्यसमाथि नेपालमा जनयुद्ध गर्ने गुरिल्लाहरु। रक्सीमै पौडी खेलौँला झैँ पिएपछि आपसी झगडामा उनीहरु उत्रिएका हुन्।