१३ भदौ, प्यूठान।

नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखा प्यूठानले विद्युत् महसुल नतिर्ने ९६ जना ग्राहकको लाइन काटेको छ ।

पछिल्लो एक वर्षमा जिल्लामा विद्युत् महसुल नतिर्ने ७७ जना व्यक्ति, नौ वटा ग्रामीण तथा साना उद्योग, चार वटा व्यापारिक फर्म, पाँच वटा गैरसरकारी संस्था र एकवटा सिँचाइ आयोजना गरी ९६ वटा उपभोक्ताको विद्युत् लाइन काटिएको विद्युत् प्राधिकरण बिजुवारले जनाएको छ ।

प्राधिकरणले तीन महिनासम्म वा तीन हजार रुपैयाँ भन्दा धेरै महसुल बाँकी राखेका ग्राहकको लाइन काट्ने गरेको प्राधिकरणका आयफाँट प्रमुख भोजबहादुर विष्टले बताउनुभयो । जिल्लामा प्राधिकरणका १४ हजार ८१९ ग्राहक रहेका छन् । प्राधिकरणले दुर्गम तथा टाढाका स्थानमा तीन महिनाको एक पटकमात्रै विद्युत् रिडिङ गर्ने र सुगम स्थानमा प्रत्येक महिनाको एकपटक रिडिङ गर्ने गरेको छ ।

प्राधिकरणले पछिल्लो एक वर्षमा उपभोक्ता महसुलबाट २३ लाख ९५ हजार ११८ रुपैयाँ ३६ पैसा अझै उठाउन सकेको छैन । त्यस्तै एक वर्षको अवधिमा उपभोक्ता महसुलबाट चार करोड २५ लाख ८ हजार ८ हजार ४९ रुपैयाँ ४४ पैसा र विविधबाट २७ लाख ७२ हजार ३७८ रुपैयाँ ७५ पैसा गरी चार करोड ५२ लाख ८० हजार ४२८ रुपैयाँ १९ पैसा महसुल जम्मा गरिएको आयफाँट प्रमुख विष्टले जानकारी दिए।

सबैभन्दा धेरै सरकारी कार्यालयबाट महसुल उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । रासस