१३ भदौ, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ३४ मध्ये ३० कर्मचारी शनिबार अनुपस्थित रहेको पाइएको छ । भन्सार विभागले आफ्नो जिम्मेवारी पूरा नगरेको र कार्य क्षेत्रमा अनुपस्थित भएकाका कर्मचारीलाई कारबाही गर्न स्पष्टीकरण सोधेको छ ।

शनिबार बिहान विमानस्थलमा उपसचिवको नेतृत्वमा ३४ कर्मचारीमध्येमा चार जनामात्रै उपस्थित, बाँकी अनुपस्थित रहेको पाइएको उल्लेख गर्दै विभागका प्रवक्ता सूर्य सेढाईंले उनीहरूलाई कारबाही गर्न शनिबार नै लिखित स्पष्टीकरण सोधिएको जानकारी दिए । रक्षा बन्धनको बहानामा उनीहरु अनुपस्थित थिए ।

तोकेको जिम्मेवारी पूरा नगरेको र सेवा प्रवाहमा गम्भीर लापरबाही गरी कार्यालयमा अनुपस्थित भएकामा ३० कर्मचारीसित स्पष्टीकरण सोधिएको हो ।

tribhuwan intl airport

सेढाईंले कार्यालय समयमा अनुपस्थित भएका ३० कर्मचारीलाई निजामती सेवा ऐन र निजामती सेवा नियमावली अनुसार कारबाही गरिने जानकारी दिए । ‘चित्तबुझ्दो स्पष्टीकरण नआए कानुनबमोजिम अनुपस्थित कर्मचारीलाई विभागीय कारबाही हुन्छ । कार्यस्थलमा उपस्थित नहुने र सेवा प्रवाहमा अवरोध खडा गर्नेलाई छुट हुँदैन’ सेढाइँले  भने- ‘संवेदनशील ठाउँमा ड्युटी गर्ने कर्मचारीले चरम गैरजिम्मेवार कार्य गरेकाले उनीहरूमाथि कडा कारबाही हुन्छ ।’

कर्मचारी नै अनुपस्थित भएपछि शनिबार बिहान टर्किस एअरबाट आएका यात्रुको जाँच गर्न समस्या भएको थियो । कर्मचारी कम भएका कारण यात्रुको चेकजाँचमा धेरै समय लागेको थियो । उक्त एअरको जहाज बिहान ६:३० बजे विमानस्थलमा अवतरण हुने गर्छ । कर्मचारी नै नभएपछि समस्या भएको गुनासो आउने गरेको छ ।

विमानस्थलमा रहेको भन्सार कार्यालयका कर्मचारीले सेवाग्राहीलाई दुःख दिएको र सेवा प्रवाहमा लापरबाही गरेको भन्ने चौतर्फी गुनासो आइरहेको बेला विभागका महानिर्देशकसहितको टोलीले शनिबार बिहान अनुगमन गर्दा ३४ कर्मचारीमध्ये तल्ला तहका चारजना मात्रै कार्यस्थलमा उपस्थित रहेको पाइएको थियो ।

अनुगमनका क्रममा कार्यस्थलमा रहेका कर्मचारीमध्ये अधिकृत तहका कोही पनि नभएको, प्रमुख भन्सार अधिकृतलगायतका उच्च अधिकारीले कुनै जानकारी नगराएको पाइएको थियो । आजको कान्तिपुरमा खबर छ ।