६ असार, मोरङ ।

राजनीतिक दलहरुबीच गठबन्धनका कारण विराटनगर महानगरपालिकाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

नेकपा एमाले तथा लोकतान्त्रिक फोरम नेपालबीच र सङ्घीय समाजवादी फोरम नेपाल तथा नेकपा माओवादी केन्द्रबीच प्रमुख र उपप्रमुख पदका लागि गठबन्धन भएका कारण निर्वाचनमा कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको हो ।

गठबन्धनका कारण महानगरपालिकामा प्रमुखमा चारवटा दलबीच कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको हो । विराटनगर महानगरपालिकामा प्रमुखको पदमा नेपाली काँग्रेसका भीम पराजुली, एमालेका विनोद ढकाल, उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरमका उमेश यादव र राप्रपाका प्रह्लाद साहबीच कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको मतदाताको अड्कल गरेका छ ।

अन्य राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरुले पनि जित्ने दाबीका साथ उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेले लोकतान्त्रिक फोरमका उपप्रमुख पदका उम्मेदवार सूची चौधरीलाई सघाउने र लोकतान्त्रिक फोरमले प्रमुख पदमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

माओवादी केन्द्रले सङ्घीय समाजवादी फोरमका उम्मेदवार उमेश यादवलाई र उसले माओवादी केन्द्रका उम्मेदवार नमिता न्यौपानेलाई सघाउने सहमति भएको छ । तालमेल गरेका दलहरुले प्रमुख र उपप्रमुख पदमा जित सुनिश्चत भएको दाबी गरिरहेका छन् ।

काँग्रेसले कुनै पनि दलसँग गठबन्धन नगरी प्रमुख, उपप्रमुखलगायत महानगरका १९ वटै वडाका अध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएको छ । अन्य दलले पनि सोहीअनुरुप वडाहरुमा उम्मेदवारी दर्ता गराएका छन् ।

काँग्रेस मोरङले पार्टीको अवस्था मजबुत रहेका कारण कुनै पनि दलसँग गठबन्धन नगरेको बताएको छ ।

विराटनगरमा एक लाख १४ हजार मतदाता छन् । विराटनगरमा स्थानीय तहको निर्वाचनमा पार्टीगत आधारभन्दा स्थानीय समस्या, उम्मेदवारको आचरणले महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ । यस अतिरिक्त जातीय, क्षेत्रीय र भाषिकलगायतका विषयले पनि महत्वपूर्ण प्रभाव पार्ने सम्भावनालाई नकार्न सकिँदैन । रासस