२५ भदौ, विराटनगर । विराटनगर महानगरपालिकाले आज चालु आवका लागि रु तीन अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।

आव २०७४/०७५ का लागि महानगरपालिकातर्फ रु एक अर्ब ७४ करोड ८९ लाख २१ हजार, मझौला सहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना/क्षेत्रीय विकास परियोजनातर्फ रु एक अर्ब ६४ करोड गरी रु तीन अर्ब ३८ करोड ८९ लाख २१ हजारको अनुमानित बजेट पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले ‘सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ दीर्घकालीन सोचका साथ समानुपातिक विकासको अभियानलाई मूर्तरुप दिने उद्देश्यले बजेट तयार गरिएको बताए ।

बजेटमा समानुपातिक र संस्थागत विद्यालयको समानताका लागि नमूनाको रुपमा विकास गर्न क्षेत्रगत रुपमा उत्तरी र दक्षिणी गरी एक/एक सामुदायिक विद्यालय र मदरसासमेत गरी तीनवटा विद्यालयमा रु ५० लाखका दरले रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी, ‘छोरी बचाउ अभियान’ अन्तर्गत पहिलो छोरी जन्माउने अभिभावकलाई रु तीन हजार, ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप सामाजिक भत्तामा मासिक थप रु एक हजार दिने उल्लेख गरिएको छ ।

यसका साथै निर्माणमा सहजताका लागि आफ्नै स्वामित्वमा रोलर र ग्रेडर खरिद गर्न रु दुई करोड, नहरलाई बाइपासको रुपमा विकास गर्न रु एक करोड, बहुउद्देश्यीय पार्क निर्माण गर्न र वडा नं ३ को घोघापैनी निर्माण गर्न रु एक/ एक करोड र स्लाब हाल्न १५ वटा वडालाई रु २०/२० लाखका दरले बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी, ऐतिहासिक विराट राजाको दरबार क्षेत्रका लागि रु ४० लाख र एकीकृत बस्ती विकास परियोजना सञ्चालन गरी सुकुम्बासी तथा खोला छेउका घरपरिवारलाई व्यवस्थापन गर्ने लगायतका योजना सार्वजनिक गरिएको छ । रासस