१७ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिमैत्री विकासको अवधारणालाई कार्यान्वयन गरी विशिष्ट सांस्कृतिक पहिचानलाई जीवन्त राख्नुपर्ने बताएकी छन ।

जैविक विविधता, जलाधार क्षेत्र, जलवायु, नेपाली कला संस्कृति, मानव तथा वातावरणीय अधिकारबारे समावेश गरी तयार गरिएको गीतिसंग्रहको सिम नेपाल र राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समितिद्वारा यहाँ आज आयोजित कार्यक्रममा सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन ।

सभ्यताको विकाससँगै हामीले पृथ्वीबाट निरन्तर महत्वपूर्ण लाभ लिइरहेका छौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, “प्राकृतिक सम्पदाको अनियन्त्रित र अत्यधिक दोहनले वातावरणीय असन्तुलन बढ्दो छ, जलवायु परिवर्तन र वातावरण विनाशजस्ता जटिल समस्या उत्पन्न भइरहेका छन्, यसको नकारात्मक असर जैविक विविधता, हिमश्रृङ्खला, जलाधार र नदी प्रणालीमा परेको छ ।”

राष्ट्रपति भण्डारीले देश प्राकृतिक प्रकोपको उच्च जोखिमयुक्त क्षेत्रमा पर्ने भएकाले बाढीपहिरो र भूकम्पजस्ता विपत्तिबाट प्रभावित हुँदै आएको बताइन् ।

वातावरणलाई सन्तुलनमा राख्नसकेमा बाढीपहिरोको जोखिम नियन्त्रण र न्यून गर्न सकिने, उपयुक्त स्थानमा वैज्ञानिक ढंगले व्यवस्थित बस्ती विकास गरी प्राकृतिक विपत्तिको प्रभावलाई न्यून गर्नसके मानव जीवन सुखी र सम्पन्न बनाउन सकिने राष्ट्रपति भण्डारीको भनाइ थियो ।

“जीवनको स्रोत धरा हो, धराको संरक्षण नभएमा कसैको पनि कल्याण हुँदैन, उच्च हिमश्रृङ्खला, अद्वितीय सम्पदामा हाम्रो देशले दुर्लभ हिमचितुवा तथा बाघको संरक्षणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ”– राष्ट्रपति भण्डारीले भनिन् ।

राष्ट्रपति भण्डारीले नेपालको अथाह सम्पदा नदी प्रणालीबाट विद्युत् उत्पादन गरी वातावरणमैत्री औद्योगिकरण, कृषिको आधुनिकीकरणसँगै सामाजिक र आर्थिक विकासको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरिन्न । राष्ट्रकवि माधवप्रसाद घिमिरेसँगै ३६५ जना ख्यातिप्राप्त नेपाली गायक÷गायिका एवं संगीतकर्मी कलाकारले संग्रहका गीतमा स्वर दिएकी छ । संग्रहमा ३३ मिनेट ४९ सेकेण्डको वातावरणसम्बन्धी आधुनिक, लोक, पप लगायतका गीत रहेका छन् ।

राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समितिका अध्यक्ष वीरेन्द्र यादवले वातावरण जोगाउने अभियानअन्तर्गत सबै कलाकारको स्वरमा सजिएको वातावरणीय गतिविधिको संरक्षणसम्बन्धी श्रव्यदृष्य र गीति एल्बम सार्वजनिक गरिएको जानकारी दिनुभयो । कार्यक्रममा वातावरण संरक्षणमा योगदान पु-याएबापत विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो । रासस