काठमाडौं, ६ जेठ । एकदिवसीय विश्वकप क्रिकेटका लागि पाकिस्तानी क्रिकेट टिममा ब्यापक फेरबदल गरिएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले सोमबार पत्रकार सम्मेलन गर्दै अन्तिम १५ सदस्यी टोली घोषणा गरेको हो । जसमा यसअघि छानिएका ३ खेलाडीलाई हटाएर नया ३ खेलाडी थप गरिएको छ । बोर्डका अनुसार पाकिस्तानले यसअघि छनौट भएका आबिद अली, फहीम अशरफ र जुनैद खान बाहिरिएका छन् । आसिफ अली, मोहम्मद अमिर र वहाब रिआजले टिममा मौका पाएका छन् ।

३३ वर्षीय बहाब रियाज २ वर्ष पछि टिममा फर्किएका हुन् । तिब्र गतिका बलर बहाबले पछिल्लो पटक २०१७ जुनमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । आसिफ अली आफू टिममा फर्किएको खुशी मनाउन सकिरहेका छैनन् । एक दिन अघि मात्रै उनकी १९ महिनाकी छोरीको क्यान्सरको कारण निधन भएपछि हाल उनी पुत्रिशोकमा छन् ।