एजेन्सी । आसन्न विश्वकप क्रिकेट प्रतियोगिताका लागि आइसीसीले कमेन्टेटर प्यानल घोषणा गरेको छ ।

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुली, पूर्व क्रिकेटर सञ्जय मांजरेकर र कमेन्टेटर हर्षा भोगले सहितको २४ सदस्यीय प्यानल घोषणा गरिएको हो । कमेण्टेटर प्यानलमा दक्षिण अफ्रिकाका ग्राहम स्मिथ, इङ्ल्याण्डका नासिर हुसैन, श्रीलंकाका कुमार संगकारा, पाकिस्तानका वसीम अकरम, न्यूजिल्याण्डका ब्रेण्डन म्याकुलम, दक्षिण अफ्रिकाका शान पोलाक, इङ्ल्याण्डका माइक अर्थटन र अष्ट्रेलियाका माइकल क्लार्क सहभागी छन् । सन् २०१५ मा अष्ट्रेलियालाई च्याम्पियन बनाएका कप्तान क्लार्कले कमेन्टेटर प्यानलमा डेब्यु गर्दैछन् ।

इयान बिशप, साइमन डूल, माइकल होल्डिङ, मेलेनी जोंस, इशा गुहा, एलिसन मिशेल जस्ता प्रतिष्ठित कमेन्टेटर पनि प्यानलमा सहभागी छन् । विश्वकप क्रिकेट आगामी मे ३० मा इङ्ल्याण्डमा सुरु हुने छ ।