१० मंसिर, काठमाडौँ।

बङ्गलादेशमा आगामी माघमा सञ्चालन हुने आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘डी’ मा परेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘डी’ मा परेको हो । समूह ‘डी’मा नेपालसहित बलिया तीन टेष्ट राष्ट्र भारत, अष्ट्रेलिया र न्युजिल्याण्ड छन् ।

गत महिना मलेसियामा भएको छनोट खेलको फाइनलमा नेपाल आयरल्याण्डलाई पराजित गर्दै विश्वकपको लागि छनोट भएको थियो ।

विश्वकपमा नेपालले पहिलो खेल माघ १४ गते न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी दोस्रो खेल १६ गते अष्ट्रेलियासँग र समूह चरणको अन्तिम खेल माघ १८ गते चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग हुनेछ ।

प्रतियोगितामा सहभागी १६ राष्ट्रलाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । यसमा समूह ‘ए’ मा दक्षिण अफ्रिका, बङ्गलादेश, नामिबिया र स्कटल्यान्ड छन् भने समूह ‘बी’ मा भने अफगानिस्तान, पाकिस्तान, क्यानडा र श्रीलङ्का रहेका छन् ।

त्यस्तै समूह ‘सी’मा इङ्ल्यान्ड, वेस्ट इन्डिज, जिम्बावे र फिजी छन् । राउण्ड रोबिन लिगको आधारमा खेलाइने उक्त प्रतियोगितमा प्रत्येक समूहको विजेता र उपविजेता टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । रासस