१८ असोज, एजेन्सी ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २ हजार १८ को विश्वकप फुटबलको तयारीमा कुनै किसिमको ढिलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् । जारी तयारी राम्रो भएपनि आउँदा दिनमा हुनसक्ने ढिलासुस्ती स्वीकार्य नहुने भन्दै पुटिनले सम्बद्ध अधिकारीलाई चेतावनी दिएका हुन् ।

विश्वकप तयारीको समय अन्तिम चरणमा पुगेकाले अहिले कसैले पनि आराम गर्न नहुने उनको भनाइ छ । रुसमा आगामी बर्षको जुन १४ देखि जुलाई १५ सम्म विश्वकप फुटबल हुँदैछ ।

रुसले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिता विभिन्न ११ सहरका १२ वटा रंगशालमा हुनेछ । विश्वकपको तयारी स्वरुप रुसले यो वर्षको जुनमा फिफा कन्फेडेरेशन कप आयोजना गरेको थियो ।