१५ वैशाख, एजेन्सी ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्व समुदायलाई नै आफूले अघि सारेको तथा चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा सहभागी हुन आग्रह गरेका छन् ।

उनले चीनको सो महत्वाकांक्षी आयोजनामा सहभागिताका लागि विश्वका अरु नेताहरुलाई पनि आग्रह गरेको चिनियाँ राजधानी बेइजिङबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

बेइजिङमा जारी बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बिआरआई) सम्मेलनलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति चिनफिङले सो धारणा राखेका हुन । उनले चीनको उक्त आयोजनामा थप देशहरुलाई आबद्ध हुन आग्रह पनि गरेको  सो समाचारमा जनाइएको छ ।

उक्त सम्मेलनमा युरोप, अफ्रिका, एसिया, ल्याटिन अमेरिकाका विभिन्न ३७ देशका राज्य तथा सरकार प्रमुखहरु उपस्थित भएका छन् ।

तीन दिने सो सम्मेलनको शनिबारको सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति चिनफिङले भने– हामीले संसारमा खुला अर्थतन्त्रको विकास गर्नुपर्छ र संरक्षणवादको विरोध गर्नुपर्छ ।

सो सम्बोधनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इटालियन प्रधानमन्त्री गुसेप कान्ट, पाकिस्तानी प्रधानमन्त्री इमरान खान लगायतको सहभाागिता रहेको थियो ।

सो सम्मेलनमा राष्ट्रपति चिनफिङले चीन उक्त आयोजनामा बढी भन्दा बढी देशको सहभाागिता चाहेको र यसबाट विश्वका विभिन्न देश पनि लाभान्वित हुन भन्ने चाहेको धारणा राखे ।

साझा चासो र सबैको आर्थिक विकास चीनले यस आयोजनाबाट चाहेको उनले बताए । त्यसैले धेरै भन्दा धेरै देश एवम् कम्पनीहरुको सहभागिता यसमा होस् भन्ने चाहना आफूहरुको रहेको पनि उनले बताए ।

तर पनि कतिपय विश्वका देशहरुले चीनको यो आयोजना महत्वाकांक्षी रहेको र यसबाट चीनले संसारमा आफ्नो प्रभाव र व्यापार विस्तार गर्ने भित्री चाहना राखेको भनेर पनि आलोचना गर्ने गरेका बताइन्छ ।

उक्त सम्मेलनमा विश्वका विभिन्न ३७ देशका राष्टपति र प्रधानमन्त्री छन् भने विश्वका १४० भन्दा बढी देशको सहभागिता रहेको छ ।

बिआरआइलाई चीनले केही वर्षयतादेखि ठूलो महत्व दिइ आएको छ । चीनको राष्ट्रपतिमा सि चिनफिङ निर्वाचित भएपछि देखि नै यस आयोजनालाई उनले अरु आयोजनाभन्दा बढी महत्व दिएर अघि सारेका थिए ।

चीनले हरेक दुई वर्षमा यो सम्मेलन गर्दै आएको छ । यस पटकको सम्मेलनमा पनि बेइजिङमा यस बिआरआई आयोजनाको सम्भाव्यता, यसबाट चीन र अरु विश्वका देशहरुमा पर्ने प्रभाव र फाइदाका विषयमा छलफलहरु जरी रहेका छन् ।