मृत्यु खतरनाक शब्द हो। धेरैको पसिना छुट्छ यो शब्द सुनेर। मान्छे मर्न चाहदैन। तर एक व्यक्ति थिए जो मृत्युको उत्सव मनाउने कुरा गर्थे। मृत्यु पश्चात उनका अनुयायीहरुले उत्सव पनि मनाए। नाचे, गाए। तर उनको मृत्यु भने आफैमा रहस्य बन्यो, सदैव विवादमा घेरियो।

ओशोको जन्म भारतमा भएको थियो। आफ्ना विचारको कारण उनी सधै विवादमा रहे। केही त ओशोसंग नराम्रोसंग चिढिए। केहीले उनलाई मन पनि पराए । केही उनको विचार सुटुक्क पढ्थे, सुन्थे, तर सार्वजनिक रुपमा धेरै बोल्दैनन्। केही नाम लिन पनि सङ्कोच मान्थे। केही कट्टर भक्त पनि थिए, छन्। अहिले उनका चेलाहरुबीच नै उनको सम्पतिलाई लिएर मार-काट मच्चिएको छ। उनकै चेलाले सम्पतिको लोभमा उनको हत्या गरिदिएको आशंका गर्ने पनि कम छैनन्।

ओशोलाई के भन्ने ? आध्यात्मिक गुरु, दार्शनिक, मिस्टिक, आलोचक, ध्यानी, बुद्ध, उनलाई अनेक नामले पुकारिन्छ। कुनै एक शब्द छान्न कठिन छ। उनले सधै संगठित धर्मको धज्जी उडाउँथे।

प्रेम, ध्यान, विज्ञान, बुद्ध, महावीर उनको लोकप्रिय विषय थियो। आस्तिकता-नास्तिकतामाथी बोल्दथे। मुल्ला नसीरुद्धीनको चुट्किला सुनाउँथे। सियो देखि जहाजसम्म सबै विषयमा बोल्थे। अधिकांस अडियो, भिडियो र छापामा रेकर्ड भएका छन्। विश्वभरमा कयौं भाषामा हेर्ने-सुन्ने गरिन्छ। गरीबीको विरोधी थिए। धनाड्य जीवन बिताउँथे। उनका शिष्यले ९३ रोल्स रोयल्स कार उपहार नै दिएका थिए। भन्थे, ‘उत्सव हाम्रो जाति, आनन्द हाम्रो गोत्र’। ‘जोरबा द बुद्ध’को कल्पना पनि गर्थे। अर्थात यस्तो एक नयाँ व्यक्ति, जो जोरबाले झै जीवनको आनन्द उठाओस, त्यसबाट नभागोस् र बुद्ध झै भित्रैबाट शान्त चित्तको होस्।

आफ्नो सेक्स सम्बन्धी विचारको कारण उनी बढी विवादमा रहे। ‘सम्भोग से समाधि की ओर’ उनको किताब निकै कन्ट्रोभर्सियल रह्यो। कयौंले उनलाई ‘सेक्स गुरु’ पनि भने। मृत्यु बाहेक सेक्स दोस्रो शब्द हो, जसलाई सुनेर मानिसको रौँ ठडिने गर्छ। उनको यस्ता विचार निकै चर्चित अनि विवादित रहे।

को थिए ओशो ?

ओशोको वास्तविक नाम रजनीश चन्द्र मोहन जैन हो। पछि आचार्य रजनीश भए। जब उनका कट्टर चेला धेरै भावुक भए, तब उनलाई भगवान श्री रजनीश भन्न थाले। पछि भगवान हटाए, रजनीश पनि हटाए। नयाँ नाम राखे, ओशो। सन् १९३१ मा भारतको मध्य प्रदेशको कुचवाडा गाउँमा जन्मेका थिए। दर्शनशास्त्रको प्रोफेसर समेत भए। प्रोफेसरी छोडेर ६० को दशकमा उनले सार्वजनिक स्थलमा बोल्न सुरु गरे। तर्क दिन र बोल्नमा निकै माहिर थिए। आफ्ना विचारको कारण चर्चित भए। सन् १९६९ मा उनलाई दोस्रो वर्ल्ड हिन्दु कन्फ्रेन्समा बोलाइयो।

त्यहाँ उनले भने कि कुनै यस्तो धर्म, जो जीवनलाई व्यर्थ बताउँछ, त्यो धर्म होइन। पुरीका शंकराचार्य निराश भए। उनले ओशोको भाषण रोकाउने कोसिस पनि गरे। त्यसपश्चात ओशो मुम्बइ आए। पूना (अहिलेको पुणे)को कोरेगाउँ पार्कमा आश्रम थियो। ओशोले कयौं तरिकाका ध्यान विधि विकसित गरे। विचार फैलेपछि उनको पछाडी पश्चिमाहरुको लाइन लाग्यो। सन् १९८१ सम्म त्यहाँ वर्षेनी ३०,००० मानिस आउँथे। ठाउँ साघुँरो हुन थाल्यो। विदेशीको भीड र आश्रमलाई लिएर १९७७-७८ मा तत्कालिन प्रधानमन्त्री मोरारजी देसाइसंग खटपट भयो ।

शिष्यहरुले अमेरिका बोलाए। ओरेगनमा करिब ६४,२२९ एकड बाँझो जमिनमा एक ठुलो समुदाय बनाइयो। नाम राखियो रजनीशपुरम। भीड त्यहाँ पनि बढ्न थाल्यो। त्यहाँको सरकार भड्कियो। त्यहाँका गर्भनरलाई आश्रमको निगरानी राख्न भनियो। यसलाई ‘एलियन कल्ट’ बताउँदै उनीहरुको देशमा (अमेरिका) आक्रमण भनियो। भनियो कि ओशोले उनीहरुको संस्कृति र धर्म बर्बाद गर्दैछन्।

रजनिशपुरम

पछि रजनीशपुरममा अवैध गतिविधिको आरोप लाग्यो। ओशोले आफुलाई यसको कुनै जानकारी नभएको बताए। उनको सेक्रेटरी शीलालाई ‘बायोटेरर अट्याक’को दोषी ठहर्याएर २० वर्ष जेल हालियो। पछि प्रवासी नियम उल्लंघन र कयौ अन्य मुद्धमा ओशोलाई गिरफ्तार गरियो। उनलाई देश निकाला गरियो। ओशोलाई अमेरिका बाहेक २१ देशले प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

पक्राउ परेकी ओशोकी सेक्रेटरी शीला

त्यसपश्चात सन् १९८५ मा पुना फर्के र पहिले भन्दा पनि तिखो बोल्न थाले। नास्तिकताको कुरा गर्न थाले। पछि बिरामी भए र १९ जनवरी १९९० मा ओशोको मृत्यु भयो।

गिरफ्तार भएका ओशो

तर कसरी भयो ओशोको मृत्यु ? को थियो जिम्मेवार ?

ओशोको मृत्युलाई लिएर धेरै आशंका अनि कयौं सिद्धान्त छन्।

१. अमेरिकी सरकारले ओशोलाई ‘थेलियम’ नामको स्लो पोइजन (विष) दिएको आशंका गरिन्छ। जसले बिस्तारै उनी मृत्यु तर्फ बढे। अमेरिकाबाट फर्केपछि ओशो आफैले भनेका थिए ‘ममा विषको लक्षण देखिएको छ। मेरो प्रतिरोध कम भएको छ। म आफैलाई यो कुरामा शंका छ। जब मलाई अमेरिकामा गिरफ्तार गरिएको थियो, र बिना कुनै कारण बताइ उनीहरुले मलाई जमानत दिएनन्। यसपश्चात ममा विषको लक्षण देखियो।’

२. एक अर्को विवाद अहिले अगाडी आएको छ जसमा भनिएको छ कि केही व्यक्तिहरुले उनको महंगा सम्पतिको लोभमा उनलाई मारिदिए। यसमा ठूलो रहस्य छ। जुन दिन ओशोको मृत्यु भयो त्यो दिनको ५ घण्टाको कथा थौरै थ्रिलर छ। १ बजे देखि ५ बजे सम्म। त्यो दिन ओशोका डाक्टर गोकुल गोकानीलाई १ बजे फोन गरियो कि कसैको स्वास्थ्य निकै खराब छ, छिटो आउनुस्। गोकनीले पछि भने, उनलाई बेलुका ५ बजे कोठामा जान दिइयो। चार घण्टासम्म के भयो, कसैलाई थाहा छैन । त्यहाँ अमृतो र जयेश (माइकक ओ ब्रायन) थिए। ओशोको हातमा वान्ताको छिटा थियो। यस्तो लाग्दै थियो, उनको मृत्युको प्रतिक्षा गरिदैँ थियो।

डाक्टर गोकानी

३. प्रश्न यो हो कि सो समय आश्रममा अन्य डाक्टर पनि उपस्थित थिए। उनीहरुसंग कन्सल्ट किन गरिएन ? उनलाई अस्पताल किन लगिएन ? गोकानी भन्छन्, ‘अमृतोले भने ओशोले भर्खरै शरीर छोडेका छन्। तपाईले उनको डेथ सर्टिफिकेट लेख्नुछ। उनको शरीर तातो थियो र स्पष्ट थियो कि उनले आफ्नो शरीर एक घन्टा भन्दा पहिले छोडेका होइनन्।’

गोकानी भन्छन् कि ओशोले अन्तिम सास लिएको उनले देखेनन्। त्यसैले उनले जयेश र अमृतोलाई उनको मृत्युको कारण सोधे । उनीहरुले गोकानीसंग मुटुको बिमारीको बारेमा लेख्न भने, ताकि शवको पोस्टमार्टम हुन नसकोस्। प्रश्न यो पनि उठ्यो कि गोकानीले वान्ताको बारेमा किन केही सोधेनन् ?

पछि उनको अन्तिम संस्कार पनि निकै हडबडीमा गरियो। ओशोकी सेक्रेटरी नीलम भन्छिन् जब उनले ओशोकी आमालाई मृत्युको खबर बताइन तब उनले भनिन, ‘नीलम, उनीहरुले उनलाई मारे।’

आफ्नी आमासंग ओशो

४. ओशोको सम्पतिलाई लिएर पनि बवाल भएको छ, अदालतमा विवाद जारी छ। उनका एक अनुयायी हुन, योगेश ठक्कर, उनले यो इच्छापत्र विरुद्ध अदालतमा चुनौती दिएका छन् । उनी भन्छन् यो इच्छापत्र नक्कली हो। उनको दाबी छ कि सन् १९८९ मा बनेको यो इच्छापत्रको बारेमा कसैलाई थाहा थिएन। सन् २०१३ मा अचानक यसलाई अमेरिकाको एक अदालतमा एक मुद्धाको सुनुवाइको क्रममा पेश गरिएको थियो।

इच्छापत्र

ठक्कर भन्छन् कि यो इच्छापत्र ओशोको मृत्यु पश्चात बनाइएको हो। इन्टेलेक्चुल प्रोपर्टी राइटस्को एक मुद्धमा यो इच्छापत्र पेश गरिएको थियो। यो इच्छा पत्र अनुसार ओशोको सबै चीज ओशो इन्टरनेशनल फाउन्डेसनका ट्रस्टी जयेशको नाम भएको छ। ओशोको  सेक्रेटरी रहेकी शीलाले पनि आफ्नो किताब ‘डन्ट किल हिम’मा उनको मृत्युमाथी प्रश्न उठाएकी छिन्।

मृत्युको उत्सव मनाउन बोल्ने ओशोको आफ्नै मृत्यु निकै रहस्यमय रह्यो। रहस्यका पत्रहरु छन्। हुनसक्छ यी रहस्यका पत्र विस्तारै खुल्ला नत्र सबै रहस्य।

पुणे आश्रमको लाओस्से हलमा उनको चिहानमा लेखिएको छ, ‘ओशो, जो न जन्मे न मरे। यो धर्तीमा ११ डिसेम्बर १९३१ देखि १९ जनवरी १९९० को बीचमा भ्रमणको लागि आए।’

यो पढ्नुस्।

जसले कथित धार्मिक गुरुहरुको उठिबास लगाए, ओशोका १० रोचक घटना