९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकार नबनेको भए स्थानीय तहको चुनाव पनि संभव नभएको बताएका छन् ।

आफ्नो निरन्तरको अडानले स्थानीय तह बनेको भन्दै काँग्रेस र एमालेले पहिलेकै संरचनामा चुनाव गर्न खोजेको आरोप लगाए ।

‘काँग्रेस र एमाले ०६३ सालसम्म पनि गणतन्त्र आउँछ र राजतन्त्र जान्छ भन्नु बयलगाढा चढेर अमेरिका जानुजस्तै हो भन्ने पार्टीहरु हुन्, कञ्चनपुरको पुनर्वास नगरपालिकामा पार्टीले आयोजना गरेकोचुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, यि पार्टीहरुबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संभव थिएन ।’

काँग्रेसलाई राष्ट्रपति र एमालेलाई प्रधानमन्त्री नदिएको भए संविधान नबन्ने उनको जिकिर थियो । माओवादीकै पहलमा स्थानीय तह बनेकाले त्यसको कार्यान्वयनका लागि पनि माओवादीले जित्नुपर्ने भन्दै प्रचण्डल भोट मागे ।

‘हामी पहिलो पटक बैधानिक रुपमा संविधानमा व्यवस्था गरेर ऐन कानुन बनाएर स्थानीय जनसरकारको निर्वाचन गर्दैछौं निकायको होइन, प्रचण्डले भने, यो हाम्रो जनयुद्धको जित हो । ’
उनले कञ्चनपुरलाई लोडसेडिङमुक्त क्षेत्र बनाउन पहल गर्ने आश्वासन दिए ।