३२ साउन, बारा ।

बाराको निजगढ नगरपालिका—७ योजना टोलस्थित कान्तिपुर पोल्ट्रि ब्रिडिङ्ग फर्मको दुर्गन्धबाट पीडित स्थानीयले उद्योगमा तालाबन्दी गरेका छन् ।

योजनाटोल सुधार समितिका अध्यक्ष शिवराम श्रेष्ठको नेतृत्वमा एक हप्तासम्म उद्योगको गेटमा धर्ना दिंदा पनि उद्योग प्रशासनले माग पूरा नगरेपछि स्थानीयले उद्योगको गेटमा ताला लगाएका हुन् ।

पोल्ट्रिफर्मबाट निस्किएको दुर्गन्धका कारण स्थानीयको स्वास्थ्य जोखिममा परेको छ । दुर्गन्धले उद्योग वरपरका घरमा बस्न समेत कठिन भएको र श्वासप्रश्वाससँगै छालाका समस्याहरु देखिन थालेपछि उद्योग बन्द गर्नुको विकल्प नदेखेर सातदिनको धर्नापछि तालाबन्दी गरिएको स्थानीय रेनुका घिमिरेले बताइन् ।

उद्योगमै कार्यरत ४५ जना कामदारमध्ये २२ जना कामदार पनि विरोधमा काम छाडेर बाहिरीएका छन् । यसैवीच जिल्ला प्रशासन कार्यालय बाराले स्थानीय र उद्योग प्रशासनलाई छलफलका लागि बोलाएको छ ।