कुशल श्रेष्ठ।

लागुपदार्थ दुर्व्यसनीमा लागेका युवाको तारो बन्ने गरेको गाँजा विश्वका धेरै देशमा प्रतिबन्धित छ। केही देशमा मेडिकल प्रयोजनको लागि प्रतिबन्ध हटाइएको भएपनि यसले स्वास्थ्यमा पार्ने असरबारे खासै ध्यान दिइएको पाइदैन।

कतिपय देशमा लागूऔषधलाई शक्तिशाली बनाउनको लागि औषधी बिक्रेताहरूले विभिन्न शैली अपनाउने गर्छन। त्यसरी नै गाँजामा पनि रसायन ‘टि.एच्.सी’ (THC) को मात्रा बढाएमा यसको असर शक्तिशाली बनाउने गरिन्छ। तर हालै भएको नयाँ खोजको अनुसार भने जति धेरै शक्तिशाली गाँजाको प्रयोग गर्यो त्यसले मानिसको मस्तिष्कको संवेदनशील भागमा त्यति नै बढी असर गर्ने देखिएको छ।high potency marijuana

धेरै शक्तिशाली गाँजा प्रयोग गर्दा दिमागको मूख्य भागमा क्षति पुग्ने नयाँ अनुसन्धानले देखाएको छ। तर, यस खोजको नतिजा भने अपुरो नै रहेको छ। यस अनुसन्धानको लागि मस्तिष्कको स्क्यान गर्नुपर्ने हुन्थ्यो र वैज्ञानिकहरूले केही प्रयोगकर्ताहरूको मात्रै मस्तिष्क स्क्यान गरेका थिए। यसले गर्दा गाँजाले नै मस्तिष्कमा क्षति पुगेको हो भन्न कठिन पर्दछ, तर गाँजाको गुणस्तर र मस्तिष्कको क्षतिको मात्रा समानान्तर भएको पाइएको छ।

एक अनुसन्धानकर्ता ‘टिएगो रेइस मार्किस’ भन्छन्, “गुणस्तरले फरक पर्दछ!” उनी ‘किङ्ग्स कलेज लण्डन’का मनोवैज्ञानिक हुन्। उनका समूहले यस नतिजालाई यहि वर्षको नोभेम्बर २७ को ‘साइकोलोजिकल मेडिसिन’ पत्रिकामा छापेका थिए। “जसरी बियरले भन्दा भोड्काले बढी मताउँछ, त्यसरी नै उच्च गुणस्तरको गाँजाले धेरै मात्रामा दिमाग बदल्ने रसायन ‘टिएचसी’ (THC) निकाल्दछ।”, उनले भने। टि.एच्.सी (THC) को पूर्ण रूप भनेको ‘टेट्राहाइड्रोक्यानाबिनोल’ (Tetrahydrocannabinol) हो। “टिएचसीको धेरै डोजले दिमागमा त्यही अनुरूप असर गर्दछ।”, उनले थप्दै भने।

हालैको सर्वेक्षणको अनुसार कोलोराडोमा बिक्री गरिएको गाँजाको नमूनामा ३० वर्ष अगाडिको भन्दा ३ गुणा बढी टिएचसी पाइएको थियो।

नयाँ अनुसन्धानको क्रममा ४३ जना स्वस्थ व्यक्तिहरूसँग उनीहरूको विगतको लागूऔषध प्रयोगको बारेमा विस्तृत जानकारी लिइएको थियो। तीमध्ये आधाले गाँजा प्रयोग गरेको बताए। त्यसपछि उनिहरूले प्रयोग गरेको गाँजा कस्तो गुणस्तरको थियो भनेर पनि रिपोर्ट लिइएको थिए। रेइस मार्किस र उनका साथीहरूले त्यसपछि सबै सहभागीहरूको मस्तिष्क स्क्यान गरेका थिए। उनीहरूले ‘डिफ्यूजन टेन्सर इमेजिङ्ग’ (Diffusion Tensor Imaging) नामक विधि अपनाएका थिए। यस विधिले मस्तिष्कमा रहेको ‘ह्वाइट म्याटर’ (White Matter) को संरचना देखाउँदछ।

ह्वाइट म्याटर भनेको मस्तिष्कका विभिन्न भागहरूको बीचमा सञ्चार गराउने तन्त्रिकाहरूको राजमार्ग हो।

सहभागीहरू मध्ये उच्च गुणस्तरको गाँजा प्रयोग गर्नेहरूको मस्तिष्कको ‘कर्पस कोलासम’ (Corpus collasum) भागमा बढी क्षती भएको देखिएको थियो। यो सबैभन्दा मूख्य ह्वाइट म्याटर हो जसले दाहिने मस्तिष्क र देब्रे मस्तिष्कको बीचमा निरन्तर सञ्चार गराउँदछ। उनीहरूको मस्तिष्कको कर्पस कोलासममा भएका पानीका अणुहरू सामान्य भन्दा बढी र सजिलै टुक्रिने गरेको भेटिएको थियो, जसले तन्तुहरू कमजोर हुँदै गएको जनाउँदछ।corpus collasum

दाहिने र देब्रे दिमागको बीचमा सञ्चार गराउने ‘कर्पस कोलासम’

यसले उच्च गुणस्तरको गाँजाको प्रयोग र ह्वाइट म्याटरमा हुने क्षतिको बारेमा प्रष्ट सम्बन्ध देखाउँदछ, तर यसको कारण गाँजा नै हो भन्न भने सकिँदैन। “उनिहरूको मस्तिष्कले काम गर्ने दर र विधिले गर्दा पनि यस्तो भएको हुन सक्छ।”, ‘मिच अर्लीवाइन’ भन्छन्। उनी न्यूयोर्कको ‘युनिभर्सिटी अफ अल्बानी’का मनोवैज्ञानिक हुन्। उनले भने, “यस्तो नतिजा अर्कै किसिमको दिमाग बदल्ने लागूऔषधले गर्दा पनि हुन सक्छ, जस्तै कोकेनले पनि मस्तिष्कको कर्पस कोलासममा धेरै असर गरेको देखिएको छ।”

मस्तिष्कको संरचनालाई मात्र अवलोकन गरेको हुनाले, दिमागको कार्यमा कस्तो किसिमको फरक आउँदछ भन्ने अझै बुझ्न गाह्रो नै छ। फेरि, यसरी कर्पस कोलासममा हुने क्षतीले स्मरणशक्तिमा कस्तो किसिमको फरक हुन्छ भन्ने बारे पनि कुनै प्रमाण भेटिएको छैन। यसको बारेमा विस्तृत ज्ञान पाउनको लागि मस्तिष्कका अन्य भागहरूमा पनि अवलोकन गर्नु जरुरी हुन्छ। विशेष गरी गाँजाले स्मरण शक्ति र अन्य मनोवैज्ञानिक व्यवहारमा कस्तो असर पर्दछ भनेर अनुसन्धान गर्नु पनि आवश्यक पर्दछ।

“आजभोलीका युवावर्गहरूले गाँजाको गुणस्तर र यसले मस्तिष्कमा पुर्याउने असर बारे बुझ्दै नबुझी गाँजा सेवन गरिरहेका हुन्छन्। तर यसको बारेमा सामान्य भएपनि जानकारी पाउनु सबैको लागि उत्तिकै महत्वपूर्ण हुन आउँछ।”, मार्किसले भने।

नेपालमा बाटोकै छेउकुनामा जताजतै पाइने गाँजामा युवा सहजै लतबसाउने गर्छन। प्रहरीले गाँजा फडानी गर्ने गरेको भएपनि यो कार्य त्यति प्रभावकारी भएको देखिन्न। यसले स्वास्थ्य र मुख्यत: दिमागमा पार्ने असरको बारेमा समयमै सचेत बनि यसको सेवन नगर्न नगराउन युवाकै भुमिका मुख्य हुनु पर्छ।