३१ भदौ, काठमाडौं ।
वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको भव्य अभिनन्दन गरिएको छ । नेवाः जागरण मञ्चको संयोजन र लक्ष्मीदास मानन्धरको संयोजकत्वमा स्थापित ‘वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी सम्मान’ समितिको आयोजनामा शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीले जोशीलाई उक्त अभिनन्दन गरेकी हुन ।

डा. जोशीलाई सम्मान गर्नुअघि काठमाडौंको बसन्तपुरबाट नेपाली सेनाको बग्गीमा राखेर नगर परिक्रमा गराईएको थियो । काठमाडौं महानगरपालिकाको सहयोगमा भएको उक्त सम्मान कार्यक्रममा सांस्कृतिक बाजागाजाका साथ विभिन्न सांस्कृतिक झाँकीहरुको प्रदर्शन गरिएको थियो भने धिमे, बाँसुरी, धाः बाजा सहित बिभिन्न सांस्कृतिक कार्यक्रम र धार्मिक विधि अनुसार सम्मान गरिएको हो । अभिनन्दन कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालको संस्कृतिको जगेर्नाका लागी जोशीले खेलेको भूमिकाको प्रसंसा गरेका थिए ।

त्यस्तै जोशीले नेपालको संस्कृतिको जगेर्ना गर्नु अहिलेको चूनौति भएको बताए ।

वाङमय शताब्दीपुरुष सत्यमोहन जोशी हाल ९८ बर्ष भएका छन । उनले नेपालको लोकसंस्कृतिको सामाजिक एवं दार्शनिक महत्वलाई जनमानसका साथैं कर्णाली क्षेत्रका अज्ञात संस्कृतिलाई सार्वजनिक गरेर उल्लेखनीय कदम चालेका थिए । उनका नेपालभाषा, नेपाली तथा अंग्रेजीका साथै ६० वटाभन्दा बढी पुस्तक कृतिहरु प्रकाशित भईसकेका छन् ।