शरीरलाई नभई नहुने पोषक तत्वमा पर्छ प्रोटिन । अङ्ग, मांसपेशी, स्नायु प्रणाली तथा प्रतिरक्षा प्रणाली धेरै हदसम्म प्रोटिनमा भर पर्छन् । शरीरको संरचना विकासमा यसको भूमिका महत्त्वपूर्ण हुन्छ ।

मांसपेशीको विकास तथा आन्तरिक स्वस्थताले शरीरको ढाँचा तयार पार्छ र यो सब प्रोटिनमा निर्भर रहन्छ । त्यसैले अत्यावश्यक प्रोटिनको मात्रा शरीरलाई पुगेको छ वा छैन थाहा पाउनु जरुरी छ । प्रोटिनको अभावमा तपार्इंको शारीरिक विकास राम्रोसँग हुँदैन । प्रोटिन अभाव भएको सङ्केत थाहा पाउन सके त्यसको समाधानको उपाय अपनाउन सकिन्छ ।

protin

प्रोटिन अभावका लक्षण

पातलो रौँ
रौँको मोटाई वंशाणुगत हुने भए पनि प्रोटिनको अभावमा रौँ पातलो हुन्छ । शरीरमा प्रोटिनको कमी हुन जाँदा शरीरले रक्षात्मक उपाय अपनाएर रौँ, नङलाई प्रोटिन आपूर्ति गर्न छाड्छ । यसैकारणले नङ र रौँको स्वास्थ्य बिग्रन्छ । यसैले रौँ र नङको स्वास्थ्य अवस्थाले शरीरमा प्रोटिनको मात्रा दर्साउँछ ।

आँखा सुन्निने
प्रोटिनको अभाव भएको अवस्थामा रगतमा प्लाज्मा प्रोटिन कमी हुन्छ । कलेजोले पर्याप्त मात्रामा फलाम तत्व सञ्चय गर्न नसक्दा यसरी प्लाज्मा प्रोटिन कम हुने हो । फलाम तत्वको कमी भएर हेमोग्लोबिनको उत्पादन घट्छ र रक्तअल्पता भएर आँखा सुन्निन्छ ।

थकान
प्रोटिन कम हुँदा शरीर थकित हुन्छ किनभने शरीरले पर्याप्त ऊर्जा पाउँदैन । शरीरमा चिनीको मात्रा प्रोटिनको सहयोगमा व्यवस्थित हुन्छ । यसैले प्रोटिनको पर्याप्त मात्रा भएन भने दिमागले राम्रोसँग काम गर्न सक्दैन र थकान महसुस हुन्छ । मांसपेशी क्षय हुनुले प्रोटिनको कमी देखाउँछ । प्रोटिनको अभाव भएमा मांसपेशीको आकार कम हुन थाल्छ ।

भोक लाग्नु
प्रोटिनको आभावमा भोक धेरै लाग्छ ।

बारम्बार विसन्चो हुनु
स्वस्थ मानिसमा पनि प्रोटिनको आभाव भएको अवस्थामा बारम्बार बिरामी पर्न थाल्छ । शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन पर्याप्त मात्रामा प्रोटिन आवश्यक पर्छ । रातो रक्तकोष, सोतो रक्तकोष र एन्टिबडीको आधार प्रोटिन हो । यी सबै पक्षले मिलेर शरीरमा रोगाणु नाश गर्ने काम गर्छन् ।

झाडापखाला
झाडापखाला लाग्नु भनेको पाचन प्रणाली बिग्रनु हो । यस अवस्थामा आन्द्राले पोषक तत्व राम्रोसँग अवशोषित गर्न सकेको हुँदैन र शरीरमा प्रोटिनको कमी हुनजान्छ ।

धेरै प्रोटिन पाइने खाद्यवस्तु
दालः दाल र गेडागुडीमा पर्याप्त मात्रामा प्रोटिन हुन्छ तर यसप्रकारको प्रोटिन पचाउन गाह्रो हुने भएकाले तरकारीसँग मिलाएर राम्रोसँग चपाएर खानुपर्छ ।

अण्डाः अण्डामा हामीलाई चाहिने महत्त्वपूर्ण प्रोटिन हुन्छ । साथै सबै आठ प्रकारका अत्यावश्यक एमिनो एसिड पनि अण्डामा पाइन्छ ।