कुशल श्रेष्ठ

एक साधारण व्यक्तिले आफ्नो शरीरको त्यति ख्याल राख्दैन, जति राख्नुपर्ने थियो। हो, उसले शरीर सफा राख्छ, सन्तुलन भोजन गर्छ र स्वस्थ पनि छ, तर मानवशरीरको मूल्य र महत्व केवल त्यत्तिमा मात्रै सीमित छैन।

भनिन्छ, मानव जीवन प्रकृतिको अनमोल उपहार हो। तर धेरैले यो बुझेका छैनन् कि ‘को हो प्रकृति?’, ‘कस्तो उपहार?’ अनि ‘शरीरसँग प्रकृतिको के सम्बन्ध?’

यो प्रश्नको उत्तर बुझ्नको लागि पहिले हाम्रो शरीर के हो भनेर बुझ्नु जरुरी हुन्छ। हिन्दु धर्ममा मानवशरीरलाई ‘देहम्’ भनेर चिनिन्छ, जसको अर्थ हुन्छ ‘आत्मरक्षक’। यसलाई सामान्य जिब्रोले ‘शरीर’ पनि भन्दछन्, जुन ‘सराह’ शब्दबाट साभार गरिएको हो, यसको अर्थ हुन्छ ‘पाँच’। यसले शरीरको रचना ५ तत्वले बनेको हुन्छ भन्ने सङ्केत गर्दछ- जल, वायु, अग्नी, धर्ती र आकाश। कसै-कसैले ‘देहनम्’ भन्ने शब्द पनि प्रयोग गर्छन्, यो त्यहि शब्द हो जुन वैदिक मन्त्रद्वारा मानवशरीरको अन्तिमसंस्कार गर्ने बेला उच्चारण गरिन्छ।

हिन्दु धर्मका अनुसार मानवशरीरको आधारभूत विवरण

वास्तविक कुरा त, हिन्दु धर्ममा शरीरलाई अनेकौँ तरिकाले विवरण गरिएको छ। तर सबैको मूल अर्थ यहि हुन्छ कि हामीले आफ्नो शरीरको विशेष ध्यान राख्नुपर्ने हुन्छ। किनभने शरीर नै प्रकृति हो। मतलब यसले प्रकृतिका सबै चरणहरू पार गर्नुपर्ने हुन्छ, जस्तै; जन्म, मृत्यु, दुःख, पीडा, सुख, आदि। फेरि पाप, अधर्म, कुकर्म जस्ता अवगुणहरूको घर पनि यहि शरीर नै हो। यी कुराहरू त छँदैछन्, यसलगायत मानवशरीरलाई ‘पवित्र’ पनि मानिन्छ, किनकी शरीर भनेको देवतत्वले बास गर्ने स्थल हो, जहाँ स्वयं परमआत्मा बाँधिएर बसेको हुन्छ।

तसर्थ, मानिसले आफ्नो शरीरलाई शुद्ध र पवित्र राख्नको लागि सत्कर्म गर्नुपर्ने हुन्छ। जब मानिस अधर्मको बाटो छोडेर धर्मको बाटोतर्फ लाग्छ, तब मात्रै उसको शरीर निश्चल अनि पवित्र हुन्छ। तबमात्रै उसले आफ्नो शरीरलाई स्थिर राख्न सक्छ र आत्मज्ञान प्राप्त गर्न सक्छ।

हिन्दु धर्मको दृष्टिकोणबाट मानवशरीरलाई बुझ्नुपर्दा:

१. सृष्टि

शरीर नै सृष्टिको रूप हो अनि शरीर नै ब्रह्माको रूप हो, यो कुरा धर्मशास्त्रहरूमा पनि उल्लेख गरिएको छ। ब्रह्मा आफै सृष्टि हुन् भने स्रष्टा पनि उनी आफै हुन्। यो संसारमा जे-जति तत्वहरू छन्, ती सबै ब्रह्माकै रूप हुन्।Human and Universe

२. आत्मा

शरीरभित्र विभिन्न अङ्गहरू हुन्छन् र हरेकको आफ्नै चेतना हुन्छ, या भनौँ ती सबै अङ्गलाई केवल एउटा तत्वले नीरिक्षण र नियन्त्रण गरिरहेको हुन्छ, त्यसैलाई आत्मा भनिन्छ। आत्मा दुई प्रकारका हुन्छन्- ‘भौतिक आत्मा’, जसले शारीरिक अङ्गलाई नियन्त्रण गर्दछ र ‘परमआत्मा’, जसले ज्ञान, बुद्धि, विवेक र अहमलाई नियन्त्रण गर्दछ। जब भौतिक आत्मालाई हामी बुझ्न सक्छौँ, चिन्न सक्छौँ तब मात्रै परमआत्माको द्वार खुल्छ।Human soul

३. रथ

श्रीमद्भागवतगीतामा श्रीकृष्णले अर्जुनलाई यो संसार अनि ब्रह्माण्डको बारेमा परमज्ञान दिएको विषय उल्लिखीत छ। त्यसमा शरीरलाई एक रथसँग तुलना गरिएको छ। सिद्धान्त यहि हो कि, मानिसले आफ्नो रथलाई जीवनपथमा आफैले अगाडि बढाएर उदेश्यमा पुग्नुपर्ने हुन्छ। रथलाई चलाउनको लागि ‘निर्णय’ र ‘कर्म’को आवश्यकता पर्दछ। अनि रथलाई तान्ने घोडा ‘चेतना’ हो।

४. सारथी

जसरी रथ अगाडि बढाउनको लागि घोडा (चेतना), निर्णय र कर्मको आवश्यकता पर्छ, त्यसरी नै त्यसको लागि सारथीको आवश्यकता पर्दछ। श्रीमद्बागवतगीतामा मानिसको बुद्धि, विवेक र ज्ञानलाई नै रथको सारथीको रूपमा व्याख्या गरिएको छ। एक असल सारथीको सहायताबाट मात्रै त्यो रथ जीवनको भयङ्कर पथबाट अगाडि बढ्न सक्दछ।

५. रणभूमी

शरीर त्यो रणभूमी हो, जहाँ धर्म र अधर्म, सत्कर्म र कुकर्म अनि सदगुण र अवगुणको युद्ध हुन्छ। युद्ध त्यतिबेलासम्म चलिरहन्छ, जबसम्म रथ रणभूमीका अडिरहन्छ, यानिकी जबसम्म शरीर रहिरहन्छ। यसले मतलब यहि हुन्छ कि, जबसम्म हामी जीवित छौँ तबसम्म हामीले संघर्ष गरिरहनुपर्छ, कोहि पनि व्यक्ति पूर्णरूपले सफल हुन सक्दैन। सफल त्यो व्यक्ति हुन्छ, जसले जीवनको उदेश्यलाई बुझ्छ र मोक्ष प्राप्ति गर्छ।Mokshya

६. कारागार

शरीर त्यो कारागार हो, जहाँ आत्मा बन्दी भएर बसेको हुन्छ। मानिसको अवगुण अनि कुकर्मले नै आत्मालाई बन्दी बनाएको हुन्छ र उदेश्यबाट टाढा राखिरहेको हुन्छ। जसले त्यो कारागारको फलामे बार खोल्न सक्छ, उसैले मात्र जीवनको उदेश्यलाई चुम्न पाउँछ र आत्मालाई स्वतन्त्रता प्रदान गर्छ। सदगुण, सत्कर्म र उदार भावनाले मात्रै आत्मालाई कारागारबाट छुटाउन सकिन्छ।

७. ब्रह्माण्ड

ऋग्वेदमा मानवशरीरलाई नै ब्रह्माण्डको प्रतीक मानिएको छ। जसरी पृथ्वीमा अनेकौँ किसिमका मानवशरीरहरू छन्, त्यसरी नै यो सृष्टिमा अनेकौँ किसिमका ब्रह्माण्डहरू छन्। र जसरी एउटा शरीरभित्र अनगिन्ती कोष र कणहरू हुन्छन् त्यसरी नै एउटा ब्रह्माण्डमा अनेकौँ संसार अवस्थित हुन्छन्।Human As Universe

८. शहर

उपनीषदमा शरीरलाई एक विशाल शहरको प्रतीक मानिएको छ। यस शहरसँग जोडिएका ११ द्वारहरू छन्, जसलाई शरीरका ११ मूख्य द्वारहरूले जनाउँदछन्- दुईँ आँखा, दुई कान, दुई नाकका प्वाल, मुख, नाबी, मूत्रद्वार, मलद्वार र तेस्रो आँखा! हो, तेस्रो आँखा त्यो द्वार हो, जुन मानिसले यो सांसारिक र भौतिक मायामोहलाई त्यागेपछि मात्रै खुल्दछ।

सारांशमा भन्नुपर्दा, हिन्दु धर्ममा मानवशरीरलाई अनेकौँ तरिकाले व्याख्या गरिएको छ। तर ती सबै व्याख्यायानको एउटै सिद्धान्त छ- हामीले हाम्रो शरीरलाई आत्मैदेखि शुद्ध र निश्चल राख्नुपर्दछ। सदगुण र धर्मको बाटो भएर जीवनरूपी रथलाई असल सारथीको सहायताबाट रणभूमीमा अगाडि बढाउनुपर्दछ। जीवनलाई बुझ्नुपर्दछ र त्यो हासिल गर्ने एउटा माध्यम हो- ध्यान गर्नु!

यो पनि हेर्नुहोस्-
जीवनको अर्थलाई परिभाषित गर्छ ‘मौन व्रत’ले
‘ऊँ’ को अर्थ के हो?
पानीमा पैसाको सिक्का फाल्ने चलन कहाँबाट कसरी आयो, थाहा छ?
हिन्दु धर्ममा ३३ करोड देवता छन् भन्छन् नि, के यो सत्य हो?
हिन्दु धर्ममा ‘१०८’ अङ्को महत्व थाहा पाउनुभयो भने, तपाईँ आफै चकित पर्नुहुन्छ
हिन्दु धर्मका केहि अन्धविश्वासका पछाडि यस्ता कारणहरू छन्…
जीवन र मृत्युलाई हिन्दु धर्ममा यसरी व्याख्या गरिएको छ