१ कात्तिक, काठमाडौं।

हरिप्रसाद थपलियाकी श्रीमती मेलाबाट घर फर्किएकी थिइन् । घरमा मकैको घोगाको चाङ थियो । हरिप्रसादले मकै स्याहारेर खाना खाने प्रस्ताव गरे । पत्नी दुर्गाले नमान्दा दुवैबीच मकैको घोगाले हानाहान भयो । ठट्टाबाट सुरु भएको झगडाले केही बेरमै अप्रत्याशित रूप लियो । हरिप्रसादले आवेशमा आई पत्नीमाथि कुटपिट गरे र त्यस क्रममै उनको मृत्यु भयो ।

पत्नीको मृत्यु भइसकेपछि त्यसबाट जोगिन उनले पत्नी दुर्गाले आत्महत्या गरेको वातावरण बनाउन थाले । उनले पत्नीको शव बार्दलीमा पुर्‍याए । बार्दलीको काठमा नाम्लो झुन्ड्याए र आमा रत्नमायासँग मिलेर शव डोरीमा झुन्ड्याइदिए । रातभर आमाछोराको प्रयासले दुर्गाले आत्महत्या गरेको घटनास्थल तयार भयो ।

प्रहरीले भोलिपल्ट घटनास्थल पुग्दा भने केही शंकास्पद अवस्था भेट्यो । मृतकको शव घुँडा टेकेर झुन्डिएको थियो, कञ्चटमा चोट थियो भने टाउको र खुट्टामा निलडाम भेटियो । सुरुमा पत्नीले आत्महत्या नै गरेको दाबी गरेका हरिप्रसादले पछि भने पारिवारिक झगडाका क्रममा हानाहान गर्दा पत्नीको मृत्यु भएको स्वीकारे ।

‘हामीबीच हानाहान भएपछि श्रीमती ममाथि जाइलागिन्,’ उनले बयानका क्रममा भनेका छन्, ‘मैले धकेल्दिँदा ढोकाको चौकोसमा ठोक्किइन्, चुपचाप लडिन्, मरिसकेको रहिछन्, अब त पर्ने भइयो भन्ने लाग्यो ।’ त्यसपछि आमासँगको सल्लाहमा झुन्डिएको देखाउन दुवैले बरन्डामा लगेर बुहारी दुर्गाको शव झुन्ड्याए ।

२०६४ साउन ३२ मा आमाछोराको मिलेमतोमा आफ्नी छोरीको हत्या भएको भन्दै मृतकका माइतीले प्रहरीमा उजुरी दिए । शव परीक्षणपछि चिकित्सकले आत्महत्या नभई कञ्चटको चोटका कारण उनको मृत्यु भएको प्रतिवेदन दिए ।

जिल्ला अदालतले २०६६ जेठ १४ मा पत्नी हत्या गरेको अभियोगमा हरिप्रसादलाई सर्वस्वसहित जन्मकैदको फैसला गर्‍यो । तर आमा रत्नमायाले भने हत्यापछि त्यसलाई लुकाउन सहयोगमात्रै गरेको ठहरियो । एउटै परिवारको सदस्यले अपराधबाट जोगाउन गर्ने प्रयासमा सजाय नहुने व्यवस्थाअनुसार आमा रत्नमायाले सफाइ पाइन् ।

फैसलामाथि पुनरावेदन अदालत पाटनमा पुनरावेदन पर्‍यो । हरिप्रसादका पक्षले योजनाबद्ध नभई रिस थाम्न नसकेका कारण हत्या भएकाले सजाय घटाउन माग गरेको थियो भने सरकारी वकिलको कार्यालयले आमालाई पनि सजाय हुनुपर्ने दाबी गरेको थियो ।

२०६७ भदौं १५ मा पुनरावेदन अदालत पाटनले तत्काल उठेको रिस थाम्न नसकी हरिप्रसादले पत्नीमाथि प्रहार गरेकाले ‘आवेशप्रेरित हत्या’ भन्दै सजाय १० वर्षमा सीमित गरिदियो । मार्ने काममा संलग्न नभएको, तर मरिसकेपछि शव झुन्ड्याउन सहयोग गरेको ठहर गर्दै पुनरावेदन अदालत पाटनले आमा रत्नमायालाई २० रुपैयाँ जरिवाना सुनायो ।  कान्तिपुर दैनिकमा खबर छापिएको छ।