कुशल श्रेष्ठ
पृथ्वीको वातावरणमा मानवजातिको प्रभावलाई कम गर्ने सबैभन्दा सजिलो र सस्तो एउटै मात्र उपाय भनेको ‘शाकाहारी बन्नु’ नै हो। केहि वर्षयता देखि विश्वभरी नै यहि विषयको बारेमा चर्चा भैरहेको छ। मांसाहारी बाट शाकाहारीमा जान जनतालाई प्रेरित गर्नकै लागि सामाजिक सञ्जालमा विभिन्न किसिमका पोस्टहरू देख्न सकिन्छ। पहिल्यै देखि शाकाहारी हुनेहरू त ‘हो’ नै भनिहाल्छन्, तर मांसाहारीहरूको भने छुट्टै तर्क छ- कसरी?
तपाईँको प्लेटको हरेक टुक्रा मासुको लागि जङ्गलबाट एक-एक गरी रूखहरू काँटिदैछन्, समुन्द्र, नदी अनि हावा दिनदिनै तहसनहस हुँदैछन्, इन्धनखपतलाई बढाइरहेको छ र सबैभन्दा महत्वपूर्ण- पृथ्वीमा जलवायु परिवर्तन गराइरहेको छ। जनावरहरूलाई हुर्काउने र पाल्ने प्रक्रियाको बारेमा संयुक्त राष्ट्र, वैज्ञानिकहरू, अर्थशास्त्रीहरू र राजनीतिज्ञहरूले अनुसन्धान गर्दा विभिन्न किसिमका मानवीय र पारिस्थितिक समस्याहरू आउने तथ्य पत्ता लगाएका थिए। त्यसमाथि अझैपनि विश्वका १ अर्ब मानिसहरू भोकभोकै डल्लिनुपरेको छ र यो सङ्ख्या अबको ५० वर्षभित्रमा तेब्बर हुने देखिएको छ। जसको कारण हामीले मासुसँगको सम्बन्धलाई अझै एकचोटि विचार गर्नुपर्ने अत्यावश्यक देखिएको छ।
तरपनि, किन बन्ने शाकाहारी भन्ने सोँच्नुहुन्छ भने, कारणहरू यस्ता छन्:-
१. पृथ्वी ताँतिदै छ
विश्वको जलवायु आँकडालाई हेर्दा सन् २०१४ लाई अझसम्मकै सबैभन्दा गर्मी वर्षको रूपमा देखिएको छ।
विश्वभरीका मांसाहारीहरूले वर्षमा करीब २३ करोड टन मासुको उपभोग गर्छन्, जुन ३० वर्ष पहिलेको भन्दा दोब्बर हो। मासुको लागि अधिकांश रूपमा पालिने जनावर भनेको- कुखुरा, गाई, भैँसी, भेडाबाख्रा र बङ्गुर हो- जसको लागि विशाल मात्रामा खाना र पानीको आवश्यकता पर्दछ। अनि यिनीहरूबाट मिथेन लगायतका अन्य खतरनाक हरीतगृह ग्याँस निस्कनुको साथै फोहोरको पहाड पैदा हुने गर्दछ।
यस्ता जनावरहरूको मलबाट निस्कने ग्याँसले पृथ्वीको जलवायुलाई परिवर्तन गर्ने दर १८% रहेको छ, जुन कम होइन- यो त विश्वभरीका कार, विमान तथा उद्योगलगायत अन्य साधनहरूले पैदा गर्ने ग्याँसको असर भन्दा बढि रहेको छ। यसको एउटै मात्र असर भनेको सीधा पृथ्वीको वायुमण्डलमा पर्दछ, ओजोन पत्रलाई बिस्तारै पातलो गराउँदै छ, जसको कारण पृथ्वीमा सूर्यको विकिरण सजिलै भित्र छिर्दछ र पृथ्वीको तापक्रम बढ्दछ।
२. जमिनको अधिक उपभोग
अबको ८० वर्षभित्रमा विश्वको जनसङ्ख्या ३ अर्बले बढ्ने अनुमान गरिएको छ। यदि मांसाहारी आहारलाई नै पछ्याइराख्ने हो भने त्यतिबेलासम्ममा मासुको उपभोग पनि दोब्बर भन्दा बढिले बढ्ने अनुमान गरिएको छ। फेरि साधारण शाकाहारी भोजन उत्पादनको लागि जति जग्गा चाहिन्छ, मांसाहारी भोजन उत्पादनको लागि त्यो भन्दा २० गुणा बढि जमिन चाहिने एक अनुसन्धानबाट पत्ता लागेको थियो।
हाल जनावरलाई पाल्न र चराउनकै लागि विश्वका कैयौँ उर्वरभूमीहरूको उपभोग बढ्दो छ। यसै त पृथ्वीको ३०% भाग मात्र जमिन छ जहाँ बासस्थान गर्न सकिन्छ। विश्वको जनसङ्ख्या पनि बढ्दोक्रममा छ, त्यसमाथि मांसाहारीको लागि जनावर पाल्नको लागि विशाल मात्रामा जग्गाको खाँचो पर्दछ। यी सबै आँकडालाई मध्यनजर गर्ने हो भने अबको ५० वर्षभित्रमै पृथ्वीमा मानिसको घर र जनावरको गोठ बाहेक अरू केहि देख्न सकिनेछैन।
३. पानीको अत्याधिक उपभोग
कुखुरा खाएपनि, बाख्रा नै खाएपनि, एक तरिकाले हेर्ने हो भने, तपाईँहरूले त्यस जनावरलाई बाँच्न र हुर्कनलाई चाहिएको पानी पनि उपभोग गर्नुहुन्छ। एक अनुसन्धानबाट के पत्ता लागेको थियो भन्दा, १ पाउण्ड आलु, गहुँ, मकै र धान उत्पादन गर्नको लागि क्रमैसँग ६०, १०८,१६८ र २२९ पाउण्ड पानीको आवश्यकता पर्दछ। तर १ पाउण्ड भैँसीको मासु उत्पादन गर्नको लागि करीब ९,००० लिटर (२०,००० पाउण्ड) पानीको आवश्यकता पर्दछ। साथै, १ लिटर दूधको लागि करीब १,००० लिटर पानीको आवश्यकता पर्दछ।
बङ्गुरहरू असाध्यै तिर्खाउने जनावर हो। ८० हजार बङ्गुर भएको मध्यम वर्गीय अमेरिकी बङ्गुर फार्मका लागि वर्षेनी करीब २९ करोड लिटर पानीको आवश्यकता पर्ने एक आँकडाले जनाएको छ।
४. वायुप्रदूषण
यदि कोहि कुखुरा फार्म अथवा बङ्गुर फार्मको नजिकै कोठा लिएर बस्नुभएको छ भने थाहा पाउनुभएकै होला कि, त्यहाँबाट कस्तो गन्ध आउँदछ भनेर। मिथेन र कार्बनडाइअक्साइड ग्याँस जस्ता हरीतगृह ग्याँसलगायत जनावरहरूले अन्य हानिकारक ग्याँसहरू पनि पैदा गराउँदछन्। सबैभन्दा खतरनाक भनेको अमोनिया ग्याँस, जसले अम्लवर्षा (Acid Rain) गराउनमा ठूलो भूमीका खेल्दछ। वायुप्रदूषण त छँदै छ, त्यसमाथि यस्ता ग्याँसहरूले पृथ्वीको ओजोन तहलाई समेत नकारात्मक असर गरिरहेको हुन्छ।
५. अधिकांश रोगको श्रोत
जनावरको मलमा विभिन्न किसिमका कीटाणुहरू बास गर्छन् जस्तै; सालमोनेला, ईकोली, फेकल कोलिफर्म, आदि जुन सजिलै मानिसको शरीरमा प्रवेश गर्न सक्दछ। त्यसलगायत, जनावरको वृद्धि र विकासको लागि अनेकौँ एण्टिबायोटिक्स खुवाइन्छ, यसले जनावरको वृद्धि त गराउँछ, त्यसको साथसाथै खतरनाक र शक्तिशाली ब्याक्टेरियाको पनि उत्पादन गराउँदछ। र यदि यस्ता ब्याक्टेरियाले मानिसलाई आक्रमण गर्यो भने उपचार गराउन भयंकर मुश्किल पर्दछ।
साथै मासुको सेवनबाट लाग्ने रोगले वर्षेनी लाखौँ मानिसहरूले ज्यान गुमाउनुपरेको हुन्छ। आधुनिक औषधी र प्रविधिद्वारा हुर्काइएको जनावरको मासुले अधिकांश रूपमा मुटुरोग, मधुमेह, क्यान्सर जस्ता घातक रोगहरूको विकास पनि गराउँदछ।
पृथ्वी हाम्रो बासस्थान हो र प्रकृति हाम्रो घर। यदि हामीले नै यो पृथ्वी र प्रकृतिको रक्षा नगरे, अरू कसले गर्ने? यदि मासु नखाएर पृथ्वीलाई बचाउन सकिन्छ भने यसको लागि किन अगाडि नसर्ने? पूर्ण रूपमा शाकाहारी हुन नसकेपनि मासुको उपभोगमा बिस्तारै कम गर्दै लैजानु नै पृथ्वीको बचाउको लागि सबैभन्दा उचित हुन जान्छ।