१६ वैशाख, काठमाडौँ । प्रायः उपदेश दिने प्रेरक व्यक्तिले भन्ने गर्छन्, “ठूलो मान्छेभन्दा असल बन्ने प्रयास गर्नू ।” शिक्षकले विद्यार्थीलाई पनि यस्तै सल्लाह दिन्छन् तर त्यस्तो सल्लाह दिने शिक्षक चाहिँ कतिसम्म असल होलान् ?

यसको उत्तर शिक्षकहरुबाटै खोज्ने हो भने उनीहरुले भन्नेछन्, “हामी असल छौंँ वा हुन नै खोजेका हुन्छौँ तर राज्य र समाजबाट उचित वातारण पाइएको छैन ।” शिक्षकबाट शिक्षित हुनुपर्ने विद्यार्थी अभिमत पनि आफूले पाउने गरेको उपदेशभन्दा भिन्न छैन तर त्यसका लागि उनीहरुलाई चाहिएको छ– केवल असल शिक्षक । शिक्षाका लागि विश्वव्यापी अभियानलाई नेपालमा पनि चलाउने क्रममा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आज सार्वजनिक गरेको विद्यार्थीको अभिमत सर्वेक्षणको सार पनि असल शिक्षकै छ, जहाँ, विद्यार्थीले भनेछन्, ‘असल शिक्षक नै मेरो भविष्य ।’

“हरेक बालबालिकाले असल शिक्षक चाहन्छन्” भन्ने नाराका साथ यो अभियान गत साता विश्वभर मनाउने क्रममा नेपालमा पनि मनाइएको हो । शिक्षक असल हुन उनीहरुमा कस्तो गुण आवश्यक छ ? विद्यार्थीले त्यसलाई पनि आफ्नो बुझाइको क्षमताले भ्याएसम्मको जवाफ दिएका छन् । देशका ३२ जिल्लाका तीन सय २० विद्यालयमा गरी करिब एक लाख विद्यार्थीका अभिमतको निचोड समेटेर तयार गरिएको प्रतिवेदन (पुस्तिका) को आज यहाँ राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता गौरी प्रधानले लोकार्पण गर्नुभयो । आफूहरुलाई कस्तो शिक्षक आवश्यक पर्छ भन्ने केही विशेषता झल्काउने नारा र शब्दावली लेखिएका टिसर्ट लगाएका बालबालिकाले सदस्य प्रधानलाई पुस्तक हस्तान्तरण गरेका थिए ।

पुस्तिकामा बालबालिकाले नयाँ कुरा सिकाउने, गृहकार्य जाँच गर्ने, विद्यार्थीसँग घुलमिल हुने, सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने शिक्षक आफूहरुले खाजेको उल्लेख गरेका छन् । यस्तै सधैँ विद्यालयमा आउने, मायालु तथा दयालु स्वभाव देखाउने, व्यावहारिक कुरा सिकाउने, रमाइलो वातावरणमा पढाउने, सबैलाई समान व्यवहार गर्ने र गाली गर्ने शिक्षकलाई असल शिक्षकको संज्ञा दिएका छन् । समग्रमा विद्यार्थीले आफूलाई बुझ्न सक्ने शिक्षकको खोजी गरेको सङ्कलित अभिमतबाट प्रस्ट हुन्छ ।

एनसिइ नेपालका अध्यक्ष बिके श्रेष्ठले नेपालका सार्वजनिक शिक्षाको गुणस्तर माथि उठ्न नसक्नामा शिक्षकको प्रतिबद्धता र लगनशीलतामा आएको कमी पनि एक कारण भएको आफूहरुको अध्ययनले देखाएको बताउनुभयो । अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाका शिक्षा कार्यसमूहका अध्यक्ष क्षितिज प्रसार्इंका विचारमा यदि असल र राम्रो शिक्षक छन् भने तिनीहरुले रुखमुनि बसेर पढाए पनि त्यो गुणस्तरीय शिक्षा हुनेछ ।

शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले सरकारले शिक्षक व्यवस्थापनका विषयलाई प्राथमिकता दिने नीति लिएका बेला यस अध्ययनले सरकारको नीतिलाई सहयोग गर्ने बताउनुभयो । युनिसेफ नेपालका राष्ट्रिय निर्देशक हाना सिङ्गरले अबका शिक्षकले अन्तक्र्रियात्मक रुपमा नपढाउने हो भने विद्यार्थीको भविष्य उनीहरुले सोचेजस्तो हुन नसक्ने बताउनुभयो ।

अभियान सञ्चालन गर्ने एनसिइ नेपाल शिक्षामा कार्यरत अन्तर्राष्ट्रिय संस्था, बालअधिकारमा कार्यरत संस्था, नेपाल शिक्षक युनियन तथा शिक्षा पत्रकार समूहको साझा सञ्जाल हो । रासस