५ असार, काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको चुनाव हुने ३ वटा प्रदेशमा असार १४ गते सार्वजनिक दिन गृहमन्त्रालयसँग माग गरेको छ ।

यस्तै चुनाव हुने ३५ जिल्लाका विद्यालयमा असार ११ देखि १४ गतेसम्म ४ दिन विदाको व्यवस्था मिलाउन शिक्षा मन्त्रालयसँग आयोगले आग्रह गरेको छ ।

दोस्रो चरणको चुनाव हुने प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका सरकारी, अर्धसरकारी कार्यालयमा कार्यरत अधिकाश कर्मचारी मतदान कार्यमा परिचालित हुने भएकाले ती क्षेत्रमा असार १४ गते सार्वजनिक दिईनुपर्ने आयोगको माग छ ।

आयोगका सहसचिव एवं प्रवक्ता सुर्यप्रसाद शर्माले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘चुनाव हुने क्षेत्रका सरकारी, अर्धसरकारी कार्यालयमा कार्यरत अधिकांश कर्मचारी मतदान कार्यमा परिचालित हुने र सार्वजनिक सेवा प्रवाह गर्न कठिनाई हुने भएकाले ती जिल्लाका सवै सरकारी तथा अर्धसरकारी कार्यलय र सार्वजनिक संस्थानहरुमा असार १४ गते सार्वजनिक विदा दिने व्यवस्था मिलाउन गृहमन्त्रालयलाई लेखि पठाउने आयोगले निर्णय गरेको छ ।’

यस्तै आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने जिल्लाका सार्वजनिक एवम संस्थागत विद्यालय र क्याम्पसमा असार ११ देखि १४ गतेसम्म ४ दिन सार्वजनिक विदा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई पत्रचार गर्ने निर्णय गरेको छ ।

अधिकाश मतदान केन्द्र सार्वजनिक एवम् संस्थागत विद्यालय वा क्याम्पसजस्ता शैक्षिक संस्थामा तोकिएको हुँदा ११ गतेखि नै सार्वजनिक बिदा दिईनुपर्ने आयोगको भनाई छ ।

यस्तै मतदान केन्द्र तोकिएका अन्य सरकारी, कार्यालय, स्वास्थ्य चौकी लगायतका कार्यायलको भवन र परिसर उपलब्ध गराउन पनि सम्बन्धित निकायलाई आयोगले पत्रचार गर्ने भएको छ ।