४ फागुन, काठमाडौं।

भारतको सुप्रसिद्ध अटोमोबाइल कम्पनी टाटा मोटर्स् र नेपालमा यस कम्पनीको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले नेपालमा हालै ‘शिक्षाका लागि टेस्ट ड्राइभ’ नामक सामाजिक अभियान सफलतापूर्वक सम्पन्न गरेको अवसरमा यसको औपचारिक समापन कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ ।

उक्त अभियानमा आफ्नो कम्पनीको सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा टाटा मोटर्स्ले टियागो, जेस्ट र बोल्ट कारहरुलाई देशका विभिन्न विद्यालयहरुमा टेस्ट ड्राइभको लागि राखेको थियो भने कम्पनीले हरेक टेस्ट ड्राइभ बापत् विद्यालयहरुलाई रु. ५०० प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । उक्त सहयोग रकम विद्यालयहरुले आवश्यक परेका बालबालिकाहरुको शिक्षाका लागि प्रयोग गर्नेछन् ।

उक्त समापन कार्यक्रममा शिक्षा मन्त्री धनीराम पौडेलले शिक्षाका लागि टेस्ट ड्राइभ अभियानमा सहभागी भएका सम्पूर्ण विद्यालयका प्रतिनिधिहरुलाई चेक हस्तान्तरण गरेका थिए । विद्यालयहरुले उक्त रकमलाई छात्रवृत्ति कोष खडा गरि विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षाको लागि प्रयोग गर्ने योजना समेत बनाइसकेको कुरा जानकारी गराएका छन् ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत, राजनबाबु श्रेष्ठले नेपालमा शिक्षाको महत्व एवं प्रचारका लागि यो अभियानले विशेष भूमिका खेल्ने कुरा बताए । साथै उनले नेपालमा यस्तो विशेष अभियान संचालन गरेकोमा टाटा मोटर्स् लाई हार्दिक धन्यवाद दिनुका साथै यस अभियानलाई सफल पार्न मद्दत गर्ने सम्पूर्ण अभिभावक एवं विद्यालयहरुलाई समेत हार्दिक कृतज्ञता ज्ञापन गरे ।

यसैक्रममा टाटा मोटर्स्, पि.भि.आई.बि. नेपालका कन्ट्री म्यानेजर हेमन्त पुरानिकले नेपालमा परिवारको कमजोर आर्थिक अवस्थाका कारण थुप्रै बालबालिकाहरु शिक्षाबाट वञ्चित हुने अवस्था रहेको कुरा जानकारी गराए । साथै उनले यस्तो अवस्थामा उहाँहरुले एक जिम्मेवार कर्पोरेट हाउसको रुपमा विद्यालयहरुलाई छात्रवृत्ति कोष बढाई विपन्न तथा जेहेन्दार बालबालिकाहरुको शिक्षाका लागि विशेष पहल गर्नका निमित्त उक्त टेस्ट ड्राइभ अभियान संचालन गरेको कुरा बताए । साथै यस अभियानमा १०,००० भन्दा बढी अभिभावकहरु उत्साहपूर्वक सहभागी भएकोमा आफूहरु सन्तुष्ट भएको कुरा उनले बताए ।

सेप्टेम्बर १०, २०१६ बाट धापाखेल र सानेपा स्थित जेम्स स्कुलबाट शुरु भएको टेस्ट ड्राइभ अभियान नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रको ११ वटा शहरहरु अन्तर्गत २४ वटा विद्यालयहरुमा गरिएको थियो । अभियान शुरु भएको ५ महिनाको अवधिमा जम्मा १०,०७२ जनाले टेस्ट ड्राइभमा सहभागीता जनाएको कुरा आयोजकहरुले जानकारी गराएका छन् । साथै उक्त अभियानमा सहभागी भएर टेस्ट ड्राइभ गरेका सम्पूर्ण अभिभावकहरुले टाटा र सिप्रदीको सामाजिक उत्तरदायित्वको यस विशेष पहलबारे खुलेर प्रशंसा गरेको कुरा आयोजकहरुले जानकारी गराएका छन् ।