दमौली, २५ माघ : तनहुँ जिल्ला कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको छ । ३५ जना क्षमता रहेको कारागारमा हाल १३० जना कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको हो । 

कारागारका चौकीदार नरबहादुर थापाले बिहानको समयमा कैदीबन्दीले शौचालय प्रयोग गर्न लाइन बस्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो । कारागारभित्र हाल सातवटा मात्र शौचालय भएकाले कैदीबन्दीलाई समस्या परेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अरु समयभन्दा बिहानको समयमा समस्या हुने गरेको छ । बिहानपख शौचालय जान पालो पर्खनुपर्छ ।” पर्याप्त शौचालय नहुनु र कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा यस्तो समस्या आएको उहाँले बताउनुभयो । 

कारागारका प्रमुख नारायण अधिकारीले क्षमताभन्दा बढी कैदीबन्दी भएकाले यस्तो समस्या आएको बताउनुहुन्छ । उहाँले कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरणका लागि पहल गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दिउँसोको बेलामा त त्यति समस्या हुँदैन, बिहानको समयमा पालो पर्खिएरै शौचालय जानुपर्ने अवस्था छ ।” 

पैतीस जनाको क्षमता रहेको कारागारमा ६१ थुनुवा र ६९ कैदी गरी १३० जना कैदीबन्दी रहेका छन् । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा असहज भएकाले यस विषयमा कारागार व्यवस्था विभागसँग छलफल गरी समस्या समाधान गरिने बताउनुभयो । 

तनहुँ कारागारमा रु आठ करोडको लागतमा महिला बन्दीगृह निर्माण भइरहेको छ । गत फागुनबाट निर्माण थालिएको भवन १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

पराजुली होम निर्माण जेबीले महिला बन्दीगृह भवन निर्माण गरिरहेको छ । दुई रोपनी क्षेत्रफलमा प्रहरी व्यारेक, कार्यालय भवन र ५० जना क्षमताको बन्दीगृह निर्माण भइरहेको कारागार प्रशासनले जनाएको छ । हाल तनहुँ कारागारमा महिला बन्दीगृह नहुँदा उनीहरुलाई कास्की र गोरखा कारागार पठाउनुपर्ने अवस्था छ । 

अपाङ्गता भएकालाई सहयोग 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँले अपाङ्गता भएका व्यक्तिलाई रु १३ लाख ७० हजार आर्थिक सहयोग प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि सहयोग पु¥याउन रेडक्रस सोसाइटीले रिसिङ गाउँपालिका–७ कोटदरवार र रानीपोखरीका अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग प्रदान गरेको हो । 

कोटदरबारका ८१ र रानीपोखरीका ५६ लाई जनही रु १०÷१० हजारको दरले कूल रु १३ लाख ७० हजार सहयोग प्रदान गरिएको सोसाइटीले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा सञ्चालित ‘नेपालमा भूकम्प प्रभावित समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिको लागि सशक्तीकरण र समावेशीकरण कार्यक्रम’अन्तर्गत उनीहरुको जीविकोपार्जनका लागि सहयोग गरिएको जनाइएको छ । 

रेडक्रस सोसाइटीले यसअघि भानु नगरपालिका–१३ का ४३ लाई रु चार लाख ३० हजार र व्यास नगरपालिका–८ का ३७ लाई रु तीन लाख ७० हजार सहयोग गरिसकेको छ । 

तीन क्रसर उद्योगलाई जरिवाना 

तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित तीन क्रसर उद्योगलाई जरिवाना गरेको छ । नगरपालिकाको अनुमतिबिना सञ्चालन र उत्खनन गर्ने शुक्लागण्डकी नगरपालिका–५ स्थित प्रोफर क्रसर उद्योग, वडा नं ७ स्थित शिवशक्ति क्रसर उद्योग र मिलीजुली क्रसर उद्योगलाई जरिवाना गरिएको नगरपालिकाले जनाएको छ । 

ती उद्योगले उत्खनन गरेको मालको मूल्याङ्कन गरी प्रदेश सरकारले निर्धारण गरेको प्रति घनमिटर रु १४१ को दरले जरिवाना गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो । 
––– 
(रासस)