(राजु विश्वकर्मा)

 २९ भदौ,लहान । सिरहाको गोलबजार नगरपालिका–१० धोवियाझारस्थित मुसहर बस्तीमा भोट माग्न पुग्ने उम्मेदवारले त्यहाँको स्थानीय मतदाताबाट एउटै उत्तर पाउँछन् – शौचालय बनाइदिने ग्यारेन्टी गर्नुस्, भोट लिनुस् ।

आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मत माग्दै मुसहर बस्ती पुग्ने उम्मेदवार स्थानीयवासी मतदाताको यो जवाफ सुनेपछि केही क्षण अक्कमक्कमा पर्ने गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिकाको चोहर्वाबाट पाँच किलोमिटर उत्तर घुर्मी खोलाको पूर्वी किनारमा रहेका ४० घरको सदाय (मुसहर) बस्ती शौचालयविहीन छ ।

पूरै बस्ती नै शौचालयविहीन हुँदा यहाँका सर्वसाधारण शौच गर्न बाँसघारी तथा नजिकैको नदीमा पुग्ने गरेका छन् ।

दैनिक मजदुरी र दाउरा बेचेर गुजारा चलाउँदै आएका यो बस्तीका मतदाता भन्छन्, “बस्तीमा सुरक्षित आवास र शौचालय बनाइदिने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्र हामीले भोट दिन्छौँ ।”

अर्थाभावका कारण शौचालय बनाउन नसकेकी ४५ वर्षीया फूलकुमारी सदा शौचालय बनाउने वचन दिने उम्मेदवारलाई मात्र आफ्नो मत दिने सोचमा पुगेको बताउछन् ।

सधैँभरि मजदुरी गरेर परिवार पाल्दै आएकी फुलकुमारी भन्छिन्, “नेताहरु भेट्न आउने भनेको चुनावकै बेला हो । अरुबेला उहाँहरुको अनुहारै देख्न पाइँदैन । यो चुनावमा राम्रो बास र शौचालयको व्यवस्था मिलाउने इमान्दार उम्मेदवारलाई भोट दिनेछु ।”

पचास वर्षीय झौला सदाय पनि घर र शौचालय बनाइदिने उम्मेदवारलाई मात्र मत दिने बताउछिन् ।

उनि भन्छिन्, “वर्षौंदेखि हामीले भोट हालेर मन्त्री बनाएकै छौँ तर, जितेर गएपछि नेताहरु पुनः आफूहरुको समस्या बुझ्नै आउँदैनन् । त्यसैले यही बेला हो नेताहरुसँग केही कुरा माग्ने ।”

“पछिल्लोपटक २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि मत दिएर जितायौँ, तर हाम्रो अवस्था भने जस्ताको तस्तै रह्यो,” उनि अगाडि भन्छिन्, “अब जसले हाम्रो बस्ने घर र शौचालय बनाइदिन्छ उसैलाई मत दिन्छौँ ।”

करिब २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा मत हाल्न आतुर रहेका यहाँका मतदाता पहिला जोसुकैलाई मत दिए पनि यसपालिको चुनावमा उनिहरुले उचित बास र शौचालय खोजेका छन् ।

माटोको भित्ता र खरको छानोबाट बनेका स–साना झुुप्रा घर भएको उक्त बस्तीका मतदाता भन्छन्, “हामीलाई घाम पानी छेक्ने राम्रो घर र शौचालय चाहिएको छ । यसको ग्यारेन्टी गर्ने उम्मेदवारलाई भोट दिन्छौँ ।” रासस