२५ असोज, काठमाडौं । श्रममन्त्री फर्मुल्ला मन्सुरले रोजगारदाता र श्रमिक दुवैलाई लाभ हुनेगरी सरकारले श्रमसम्बन्धी कानुन ल्याउने तयारी गरेको बताएका छन् ।

व्यवस्थापिका–संसदअन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आज सिंहदरबारमा बसेको बैठकमा श्रममन्त्री मन्सुरले नयाँ कानुन ल्याउने तयारी भइरहेको बताएका हुन् । उनले सरकारी नीति कार्यान्वयन गर्न मन्त्रालयले गृहकार्य गरिरहेको समेत बताए ।

मन्त्री मन्सुरले सबै प्रदेशमा झन्डै १० हजार दक्ष कामदार तयार पार्न उपलब्धिमूलक तालिमको व्यवस्था मन्त्रालयले गरेको जानकारी दिए । मन्त्री मन्सुरले श्रमिक वर्गको हितका लागि विदेशस्थित राजदूतावासको संख्या बढाउन आफूले पहल गरेको उल्लेख गरे ।

यसैगरी, उनले औद्योगिक क्षेत्रमा शाान्तिपूर्ण ढंगले काम गर्ने वातावरण सिर्जना गर्न र देशभरका श्रमिक वर्गको हितमा काम गर्न मन्त्रालय कटिबद्ध रहेको स्पस्ट पारे ।

बैठकमा सांसदहरुले श्रम ऐन कार्यान्वयन गर्न सरकार गम्भिर नभएकोमा आपत्ति जनाएका थिए । त्यस्तै बैठकमा नेपालको परराष्ट्रसम्बन्धी नीति समयानुकूल परिमार्जन र सुधारका सम्बन्धमा उपसमितिले तयार पारेको प्रतिवेदन पेस गरिएको छ ।