राम लोहनी
कृष्ण र कंशको द्वन्द्व खासमा घर झगडा थियो, वंश र अंशको थियो, शक्तिको बाँडफाँडको थियो। राज्याधिकारको थियो। यदुका वंशज भएका नाताले यी दुबै यादव पनि थिए। यदुको वंशमा अंधक र वृष्णीको नाम आउँछ। अंधकको वंशमा कुकुरको नाम पनि आउँछ। कुकुरको वंशमा आहुक जन्मिए। आहुकका छोरा उग्रसेन र उग्रसेनको छोरा कंस हो। यसकारण कंसलाई अंधकवंशी वा कुकुरवंशी पनि भनिन्छ।
उता वृष्णीको वंशमा शुरसेन भए। शुरसेनका छोरा वसुदेव र वसुदेवका छोरा वासुदेव कृष्ण भए। अंधकवंशी उग्रसेन र वृष्णीवंशी वसुदेवको छुट्टाछुट्टै गणराज्यहरूको संघ थियो अंधक-वृष्णी संघ।
उग्रसेन र शुरसेनविच शक्ति बाँडफाँड भएको थियो। अहिलेको शब्दावलि प्रयोग गर्ने हो उग्रसेन राष्ट्रपति र वसुदेव प्रधानमन्त्री जस्ता थिए। तर यिनीहरू वंशाणुगत भए पनि जनताबाट अनुमोदन भैरहनुपर्थ्यो आवधिक रूपमा। उग्रसेनका भाइ देवककी छोरी देवकीको वसुदेवसँग विवाह भएको थियो। वसुदेव-देवकीका छोरा कृष्ण भए। उग्रसेनको छोरा कंश शुरवीर र महत्वाकांक्षी थियो।
कंशको विवाह त्योबेलाकै सर्वशक्तिमान राज्य मगधका राजा जरासन्धका दुई छोरीसँग भएको थियो। मगधमा निरंकुश राजतन्त्र थियो। कंश आफ्नो मुलुकमा पनि मगध जस्तै निरंकुश राजतन्त्र चाहन्थ्यो। ससुराको सैन्य सहयोगमा कंशले उग्रसेन र वसुदेवलाई कैद गरी निरंकुश राजतन्त्र स्थापना गरेको थियो।
कृष्ण यो यथार्थको विपक्षमा थिए। पिताको गुमेको अधिकार फिर्ता गर्ने र एकतन्त्रीय शासनको अन्त्य गर्न चाहन्थे। शास्त्रमा कृष्णको असाधारण क्षमतालाई बढाइचढाइ गरिएको पाइन्छ। जस्तो कि कृष्णले एघार वर्षकै उमेरमा कंशको हत्या गर्ने सके। कंशको हत्या गर्नुअघि कृष्णले बाल्यावस्थामै कालिय, बकासुर, अघासुर आदि दैत्यको अन्त्य गरेको जस्ता कथाहरू पढ्न पाइन्छ। कथा जेसुकै र जसरी भए पनि कृष्ण गणतन्त्रवादी थिए। आफ्नो समयमा यी कहिल्यै राजा कहलिएनन्।