९ कात्तिक, काठमाडौं । आफन्त गुमाउनुको पीडा भोग्नेहरूलाई नै थाहा हुन्छ । अझ जीवनभर साथ निभाउने कसम खाएर वैवाहिक बन्धनमा बाँधिएको केही महिना पनि नबित्दै आँखैअगाडि जीवनसाथी गुमाउँदाको पीडा भुलाउन परेको सकस नायिका श्वेता खड्कालाई भन्दा बढी कसलाई अनुभव भएको होला । अहिले उनी आफ्नो त्यही पीडा भुलाउन ‘कान्छी’ बनेर आउन लागेकी छिन् आफ्नै लगानीमा चलचित्र निर्माण गरेर ।

स्वर्गीय पति नायक श्रीकृष्ण श्रेष्ठप्रति समर्पण गर्दै श्वेताले निर्माण गरेको चलचित्र कान्छी अहिले निर्माणको अन्तिम चरणमा पुगेको छ । मुस्ताङको लेते र आसपासका ग्रामीण क्षेत्रमा चलचित्रको सम्पूर्ण छायांकन गरिएको छ । चलचित्रका निर्देशक आकाश अधिकारी भन्छन्, ‘यहाँको ग्रामीण परिवेशमा नै चलचित्रको सम्पूर्ण छायांकन सकिएको छ । कान्छीले श्वेताको पीडा भुलाउने काममात्र गरेको छैन । हाम्रै परिवेशको एउटा स्वच्छ चलचित्र पनि बनेको छ ।’

यसअघिको चलचित्र कोहिनुरमा पनि निर्देशक आकाश नै थिए अनि थियो श्रीकृष्ण र श्वेताको जोडी । तर कान्छीको छायांकन गरिरहँदा नायिका र निर्देशकबीच श्रीकृष्णको यादमात्रै बाँकी छ । ‘कतिपय चलचित्रका दृश्य छायांकन गर्दा श्वेता धेरै भावुक बन्थिन् । तर, आफैं सम्हालिनुको विकल्प थिएन, र पतिकै सपना पूरा गर्न आएको स्मरण गर्दै पुनः काममा लाग्थिन्’, आकाश भन्छन् । नेपाली चलचित्र उद्योगमा यसअघि पनि ग्रामीण परिवेश पस्कँदै चलचित्र कान्छी निर्माण भएको थियो र मुख्य भूमिकामा थिइन् नायिका शर्मिला मल्ल । अहिलेकी कान्छी र उहिलेकी कान्छीमा के भिन्नता छ ? निर्देशक आकाश भन्छन्, ‘यो गाउँले परिवेशमा हुर्किएको सामाजिक प्रेमकथा हो । यसमा हाम्रै समाजको कथा छ । उहिलेकी कान्छी त त्यसै पनि लिजेन्ड थिइन् ।’

चलचित्र छायांकन गर्न ४८ दिन लागेको थियो । चलचित्रमा श्वेतालाई दयाहाङ राईले साथ दिएका छन् । नीर शाह, अनु शाह, प्रज्ज्वल सुजल गिरी र तेस्रोलिंगी अभियान्ता भूमिका श्रेष्ठलाई पनि प्रस्तुत गरिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बाँस्कोटा, अर्जुन पोख्रेल र राजनराज शिवाकोटीको संगीत रहेको छ । वसन्त श्रेष्ठको कारियोग्राफीमा चारवटा गीत समेटिएका छन् । चलचित्र २६ माघबाट प्रदर्शनमा आउने भएको छ ।