३० चैत, काठमाडौं।

भूकम्पमा हल्लिइर केही क्षति पुगेको पूर्वराजाहरुको श्रीपेचमा फेरि ढुसी पर्न थालेको छ । यस्तो खबर सुनेर आफैँले लैजान चाहँदाचाहदैँ पनि सरकारले अनुमति नदिएको कारण सरकारकै जिम्मामा छाड्ने पूर्वराजा ज्ञानेन्द्र कति दु:खी होलान्, त्योभन्दा बढी दिक्दार छन्, प्रेमलाल श्रेष्ठ ।

०७१ चैत २० गते केमिकलविहीन पानीले ट्रिटमेन्ट गरेको श्रीपेच दिल्लीबाट झिकाइएको बुलेटप्रुफ सिसाभित्र सुरक्षित राखिएको छ।  हावा छिर्ने ठाउँ नहुँदा समय समयमा त्यसलाई खुला राख्नुपर्छ । तर, सिसिटिभीले २४ सै घण्टा निगरानी गर्ने कारण त्यो खोल्ने हिम्मत हत्तपत्त कसैले गर्दैनन्। यो खबर सुनेर प्रेमलाल हैरान छन्। को हुन् प्रेमलाल, जसलाई श्रीपेचको दु:ख सुन्नासाथ आफ्नै सन्तती तलमाथी भएसरि चित्त बिझाउँछ ?

उनी हुन्, ऐश्वर्याको चाहनाविपरित, वीरेन्द्रको जबरजस्तीमा श्रीपेच सजाउने मुख्य कालिगढ । ०६५ जेठ २९ गते पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटीमै संबोधन गर्दै ‘परम्परागत रुपमा शाहवंशीय संस्कृतिको सूचकका रुपमा रहेको श्रीपेच र राजदण्ड सुरक्षित रुपमा राख्ने गरी, संरक्षणका लागि आजैका मितिमा नेपाल सरकारको जिम्मा रहने गरी हस्तान्तरण गरेको छु’ भनेको त्यही श्रीपेच २०३१ सालमा प्रेमलालले बनाएका रहेछन्।

आजकल ठमेलस्थित सञ्चयकोष भवनसंगै नेपाल क्याप हाउस चलाउने नयाँ बानेश्वरका प्रेमलालाई उतिबेला रानी ऐश्वर्याले ‘यस्ताले पार लगाउँदैनन्, बेलायत पठाएर बनाउनुपर्छ’ भनी गनगन गरेको, तर वीरेन्द्रले रानीको कुरा नमानीकन आफुलाई काम लगाएको उनी अहिले झल्झली सम्झिरहेका छन्। आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।