५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संगठित अपराध अहिलेको मुख्य चुनौती भएको बताएका छन् ।

prachanda

काठमाडौंमा सुरु भएको इन्टरपोलको २३ औं एशिया प्यासिफिक सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको चुनौती सामना गर्नका लागि कुनै एक देशले मात्रै नसक्ने बताए । अहिलेको मुख्य समस्या अन्तरदेशीय संगठित अपराध हो, प्रचण्डले भने, त्यसलाई कुनै एक देश र क्षेत्रले मात्रै नियन्त्रण गर्न सक्दैन । उनले त्यसका लागि हरेक देशबीच समन्वय हुनु जरुरी रहेको बताए ।

किन चुनाव चाहदैनन् ओली र उपेन्द्र यादव ?

अपराधमा संलग्न रहने र आतंकवादी गतिविधि गर्नेहरु प्रविधिमा निक्कै अगाडि रहेको भन्दै प्रचण्डले इन्टरपोलमा आवद्ध प्रहरी संगठनबीच पनि प्रविधिको पहुँच बिस्तार गर्नुपर्नेमा जोड दिए । विकास र सम्वृद्धिका लागि कानुनको प्रभावकारी कार्यान्वयन, अपराध नियन्त्रण र समाजमा शान्ति स्थापना हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

महाधिवेशन प्रचारका लागि राप्रपाको नयाँ तरिका

गृहमन्त्री विमलेन्द्र निधिले अपराध र आतंकवादको सीमाना नहुने भन्दै इन्टरपोलमा आवद्ध प्रहरीबीच सूचना आदानप्रदान प्रभावकारी बनाउनुपर्ने बताए । तीन दिन चल्ने सम्मेलनमा विभिन्न ५३ देशका सुरक्षा प्रमुखहरु सहभागी छन् । सम्मेलनमा आतंकवाद र मानव तस्करी नियन्त्रणमा विशेष छलफल हुनेछ ।

त्यसबाहेक साइबर अपराध, वन्यजन्तु तस्करी, लागूऔषध कारोबारलगायत संगठित अपराध र खेलकुद क्षेत्रमा हुने म्याच फिक्सिङका बारेमा पनि छलफल हुने नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख एआइजी विज्ञानराज शर्माले जानकारी दिए ।