४ भदौ, काठमाडौं ।

संवैधानिक मस्यौदा समिति मातहतको कार्यदलले संविधानको मस्यौदामा रहेका केही भाषागत अशुद्धि तथा दोहोरिएका विषयलाई मिलाएको छ ।

कार्यदलको आज बसेको बैठकले बिहीबार नै तयार पारेको एकीकृत मस्यौदामा रहेका केही कमजोरीलाई सच्याएर चुस्त बनाएको हो । विवाद बाँकी विषयमा प्रमुख दलका शीर्ष नेताले सहमति गरेका खण्डमा सो विषयलाई समेत समावेश गर्न सकिने उल्लेख गर्दै कार्यदलले अन्य विषयमा भने एकीकृत प्रतिवेदन तयार पारेको हो ।

constitution-of-nepal

प्रमुख दलका शीर्ष नेताबीच धर्म, मतप्रतिशत सीमा र सीमा निर्धारणपछि मुलुकका विभिन्न स्थानमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने विषयमा केही दिनदेखि छलफल जारी रहे पनि सहमति हुन सकेको छैन ।

संविधानसभाले पछिल्लो पटक दिएको चार दिनको समयसीमा आज सकिएकाले शीर्ष नेताले सहमति नगरेका खण्डमा जस्ताको तस्तै प्रतिवेदन सभाध्यक्षलाई बुझाइने समितिका सदस्य अइन्द्रसुन्दर नेम्वाङले जानकारी दिए । अन्तिम समयसीमा आए पनि दलबीच विवादित विषयमा सहमति हुन नसकेपछि असहमतिसहितको प्रतिवेदन बुझाउन लागिएको उनले जानकारी दिए ।

दलबीच भएको सहमतिका आधारमा संविधानको मस्यौदा प्रतिवेदन तयार पारिएको र विवादित विषय भने जस्ताको तस्तै नै समावेश गरिएको समितिका अर्का सदस्य भानुभक्त ढकालले जानकारी दिए। विवादित विषयमा सहमति भएका खण्डमा त्यसलाई समेत समावेश गरिने र पूर्ण प्रतिवेदन तयार पारिने उनको भनाइ छ । रासस