दीर्घराज प्रसाई

हिन्दु धर्मभन्दा धेरै पछि जन्मिएका धर्महरु मुस्लिम, क्रिस्चियनहरुले विश्वका अनेकौं राष्ट्रलाई धर्मसापेक्ष राष्ट्र घोषित गर्ने अनि नेपालले चाहीं धर्मनिरपेक्ष हुनुपर्ने ? यो कस्तो न्याय हो ? क्रिश्चियनहरुले– ‘क्रस’, यहुदीहरुले– ‘षडकोण’, मुसलमानहरुले–‘काबा’ को अस्तित्व त्याग्न तयार हुनसक्नु पर्दछ । साउदी अरबमा शिवजी वा अन्य हिन्दु देवता–देवीको फोटो लान बर्जित छ । पाकिस्तानमा हिन्दुले मुसलमानलाई भोट हाल्न पाउँदैन । घोडाको टापको औंठी लगाउनु मुसलमान राष्ट्रमा खतरा मोल्नु हो । त, भन्नुहोस्– क्रिश्चियन्, यहुदी र मुसलमानहरु आ–आफ्नो धर्मका अडानहरुलाई कुनै तलमाथि हुन नदिने अनि हामी नेपालीहरुले चाहीं आफ्नो अस्तित्व समाप्त पार्न विदेशीले उचालेका पार्टीका दलाल नेताहरुले भने अनुसार धर्मनिरपेक्ष र गणतन्त्रको समर्थन गरेर बस्नुपर्ने ? कुनै कुनै उपमाहरुलाई छोडेर जस्तोसुकै नास्तिक हुँ भन्ने नेपाली र हिन्दु तथा बौद्धहरु पनि जन्मेदेखि मृत्युसम्म कुनै न कुनै प्रकारले आफ्नै हिन्दु तथा बौद्ध संस्कारमा आवद्ध भएका हुन्छन् ।

Dirgha Raj Prasai

नेपालमा राई, लिम्बू, मगर, गुरुङ, नेवार, ब्राह्मण, क्षेत्री, कामी दमाईं, सार्की, मैथिली, भोजपुरी, अवधि जो जति छौं हामी सबै हिन्दु हौं ।

हामीहरुमध्येका कतिपय बौद्ध पनि छौं, जस्मा शेर्पा, तामाङ र केही नेवार बौद्ध धर्मप्रति आबद्ध भए तापनि यो यहींको पशुपतिनाथ र स्वयम्भूनाथभित्रकै उपज हो । यसरी दुईतिहाई जनमतभन्दा बढी जनताको समर्थन भएको मान्यताको विरुद्धमा थिचोमिचो गरेर हिँड्नु कांग्रेस, एमाले, माओवादीका नेताहरुलाई अधिकार छैन । हिन्दु धर्म यति व्यापक र उदार छ कि मूर्ति पूजा गर्ने–नगर्ने, साकाहारी, मांसाहारी, जनै लाउने नलाउने आआफ्नो इच्छाअनुसार हिँड्न सक्ने कुराहरुमा हरेक हिन्दुहरु स्वतन्त्र हुन्छन् । विश्वभरिका धर्महरुमा यो अत्यन्त उदार र प्रजातान्त्रिक धर्म मानिन्छ ।

विदेशीको इसारामा हिन्दु अधिराज्यलाई राजनीतिक मुद्दा बनाए । विश्वलाई धर्मयुद्धबाट मुक्त राख्न र विश्वशान्तिको लागि विश्वका सबै धर्महरुको सहअस्तित्व कायम राख्नको लागि नेपालमा राजसंस्था र हिन्दु अधिराज्यको निरन्तरता सबै पक्षका लागि समाधानको बाटो हो । विदेशीहरुले यहीका दलाल नेताहरुमार्फत संविधानसभाको आडमा धर्मनिरपेक्ष, गणतन्त्र र संघीयतालाई आधार बनाएर वैधानिक रुपबाट नेपाललाई ध्वस्त बनाउन लागे ।

हिन्दुअधिराज्य र राजसंस्थाको बिरोध गर्नेहरु देशद्रोही हुन् । यो देश बचाउन र स्थिरताको लागि– अबको विकल्प भनेको– हिन्दु अधिराज्यसहितको राजसंस्थाको निरन्तरता नै हो । यसबाट देशले बाटो पाउँछ, र विदेशीहरुको चलखेल समाप्त हुन्छ । नेपालमा राजसंस्था विस्थापित गर्न खोजिएको बेलादेखि नेपालमा चौतर्फी संकटले सीमा नाघेको छ, देशभित्र आगो लागेको छ । आगो बढदै गएपछि निभाउन सजिलो हुँदैन । अतः मेरो सुझाव छ– नेपालको सार्वभौमसत्ता, एकता र यसका पहिचानहरुलाई जीवन्त राख्न संविधानमा हिन्दुअधिराज्य र संसदको नियमवद्धतामा रहने संवैधानिक राजसंस्थालाई निरन्तरता दिइयोस् ।